सुदूरपश्चिम महोत्सवमा अाफुलाई स्थान नदिएकाे भन्दै स्थानीय कलाकारले बुझाए ज्ञापन पत्र


 

सुरुका वर्षहरूमा महोत्सव आयोजना गर्नु पूर्व स्थानीय कलाकारहरूसँग छलफल गरेर महोत्सवमा उचित स्थान र प्रस्तुति देखाउने वातावरण बनाउने गरेको कैलाली उद्योग वाणिज्य संघले दुई/तीन वर्षयता स्थानीय कलाकारहरूको अवहेलना गर्न थालेको गुनासो गरिएको छ। स्थानीय कला, संस्कृतिको जगेर्ना गर्ने भन्दै हरेक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा यो वर्ष स्थानीय कलाकारहरूलाई थप बेवास्ता गरिएको केएमसी म्युजिक क्लबका पूर्व अध्यक्ष एवं गायक रिसान्त ओझाले गुनासो गरे। ‘हामीले स्थानीय कलाकार र नव प्रतिभाहरूलाई पनि महोत्सवमा सहभागी हुने अवसर मिल्छ कि भन्ने ठानेका थियौँ तर, ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ भएन,’ ओझाले मिडियालाई भने।

स्थानीय कला र संस्कृतिलाई संरक्षण र विकास गर्न स्थानीय कलाकारलाई महोत्सवमा उचित स्थान दिनुपर्ने भन्दै सुदूरपश्चिममा क्रियाशिल चार वटा कला तथा सांस्कृतिक संघले मंसिर १३ गते उद्योग वाणिज्य संघ, कैलालीलाई ९ बुँदे ज्ञापनपत्र बुझाएका थिए। राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान, सुदूरपश्चिम कला प्रतिष्ठान, राष्ट्रिय सङ्गीतकर्मी संघ र राष्ट्रिय थारु कलाकार मञ्चले महोत्सवमामा स्थानीय कला, संस्कृतिलाई उचित स्थान दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

तर, ज्ञापनपत्र बुझे पनि आवश्यक छलफलका लागि महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरूलाई बोलाउन आवश्यक नठानेको राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान, सुदूरपश्चिम प्रदेश अध्यक्ष पूर्णबहादुर भाटले बताए। “हामीले मागहरू राखेका छौँ। कलाकारहरूको उचित सम्मान भएन। अघिका वर्षहरूमा सांस्कृतिक कार्यक्रमको जिम्मा, वाद्यवादनको जिम्मा संस्थाहरूलाई दिइन्थ्यो,’ उनले भने, ‘पहिले छलफल र सल्लाहमा हामीहरूलाई भूमिका दिइन्थ्यो। अहिले दुई/तीन वर्ष भयो, महोत्सवमा कलाकारहरूलाई बेवास्ता भयो।’

कलाकारहरूले महोत्सवमा स्थानीय सांस्कृतिक संस्थाहरूलाई बेवास्ता गरी सांस्कृतिक संयोजक चयन गरिएको, सुदूरपश्चिममा क्रियाशील कला तथा संस्कृति क्षेत्रमा काम गर्ने संस्थाहरूको प्रतिनिधित्व नगराइएको तथा स्थानीय कलाकार उचित स्थान र पारिश्रमिक दिनुपर्ने माग राख्दै कैलाली उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाइएको भए पनि माग सुनुवाइ नभएको सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अम्बिकाप्रसाद आचार्यले बताए। ‘सबै स्थानीय कलाकारहरूलाई पनि समेटेर स्थानीय रीतिरिवाज, धर्म संस्कृतिलाई झल्काउने खालका गीत र नृत्यनाटक प्रस्तुति हुनुपर्ने हो। यहाँका स्थानीय कलाकार बढीभन्दा बढी समेटिनु पर्ने हो तर, हामीहरूलाई महोत्सवमा बेवास्ता गरिएको छ,’ आचार्यले भने।

असन्तुष्ट स्थानीय कलाकारहरूले उद्घोषणको जिम्मा स्थानीय कलाकार र उद्घोषकलाई मात्रै दिनुपर्ने, नव प्रतिभालाई स्थान दिनुपर्ने, कला, संस्कृति र साहित्यतर्फका सबै विधाहरूको प्रतियोगिता गरेर नव प्रतिभाको पहिचान गर्ने जस्ता कार्यक्रम समेट्नु पर्नेमा उद्योग वाणिज्य संघले विगतका राम्रा अभ्याससमेत छोडेको गुनासो गरेका छन्। ज्ञापनपत्र बुझाएको भए पनि उद्योग वाणिज्य संघको तर्फबाट कुनै सुनुवाइ नभएको राष्ट्रिय थारू कलाकार मञ्चका सुदूरपश्चिम अध्यक्ष संगत रानाले बताए। ‘दुई दिनपछि बैठक बस्छौँ अनि बोलाउने भनिएको थियो तर, आजसम्म कुनै सम्पर्क नै भएको छैन,’ उनले भने, ‘हामीले स्थानीय थारू कलाकारहरूलाई पनि स्थान दिनुपर्छ भन्ने माग गरेका हौँ।’

पाँच वटा कला, संस्कृति संघमा आबद्ध कलाकारहरूले संस्थागत रूपमै सुदूरपश्चिम महोत्सवमा स्थानीय कला, संस्कृतिले उचित मौका नपाएको भन्दै आधिकारिक ज्ञापनपत्र बुझाएर माग सम्बोधन नभए महोत्सवको विरोध गर्ने जनाएका छन्। ज्ञापनपत्र बुझाउँदा छुटेका थप संघ, संस्थाले पनि उद्योग वाणिज्य संघको रबैया ठिक नभएको बताएका छन्। स्थानीय कलाकारलाई बेवास्ता गरिएको आरोप कलाकारहरूले लगाए पनि कैलाली उद्योग वाणिज्य संघले भने स्थानीय कला र संस्कृतिलाई स्थान कसरी दिन सकिन्छ भनेर वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मीलाई जिम्मेवारी दिइएको जनाएको छ।

उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले स्थानीय कला, संस्कृति र कलाकारलाई बेवास्ता नगरेको बताए। उनले महोत्सवमा स्थानीय कला, संस्कृति र कलाकारलाई उचित स्थान दिइने र त्यसको सम्पूर्ण जिम्मेवारी गायक नरेन्द्रराज रेग्मीलाई दिइएको र रेग्मीले नै स्थानीय कलाकारहरूको संयोजन गर्ने बताए। साभार दिनेश खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0