धनगढी : कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो) सहितका संघर्ष समितिका सदस्यहरुले बुधवार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई आफ्ना मागका बारेमा ज्ञापनपत्र बुझाएका हुन् । हाल १०० सैयाको ओ.पी.डी. संचालनमा रहेपनि यसले सुदूरपश्चिमेलीहरुको स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न नसकेको सयोजक लोकराज पाण्डेयले बताएका छन ।
उनले भने “३०० सैयाबाट सुरु गर्दै ६०० सैयाको पूर्णकालिक अस्पताल संचालन गरिनुपर्छ,राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धि विधेयक पास गर्नुका साथै ६०० सैयाको अस्पताल सञ्चालन गरियोस् । ” यद्यपी ६०० सैयाका लागि निर्मित भएको अस्पतालको संरचनामा हाल १०० सैया मात्र सञ्चालन भइरहेको र त्यो पनी पूर्वाधार बिना सञ्चालनमा आउनु दुःखद कुरा भएको उनले बताएका छन् । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विधेयक रोकिएको बारेमा निगरानी राख्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ । समितिले बुधवार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयको विधेयक प्रतिनिधि सभामा पेस हुन किन र कसका कारण रोकिएको हो भन्ने बारेमा प्रधानमन्त्रीलाई निगरानी राख्न आग्रह गरेकाे छ ।