जिल्लास्तरीय अनुगमन समितिको बैठकले आज दिउसाे ती नदी अनुगमन गरेर विभिन्न ढुवानीका साधन कब्जा गरेको छ ।
जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुुसालले १९ सवारी साधन नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार १० टिपर, ३/३ वटा टेक्टर, जेसीबी र स्काभेटर नियन्त्रमा लिएको हो । ‘मापदण्ड विपरीत उत्खनन गरेको पाइएपछि हामीले नियन्त्रणमा लिएका हौ’, उनले भने । नदीबाटै नियन्त्रणमा लिएका ती साधन स्थानीय प्रशासनको जिम्मा लगाइएको उनले बताए ।
गोदावरी नगरपालिकाको खुटीया, खैराना र गोदावरी नदीको ढुंगा गिट्टी बालुवाको नियम विपरीत उत्खनन भएपछि जिल्लास्थित नदिजन्य पदार्थ अनुगमन समितिले अाईतवार अनुगमन गरेको हो ।
सबैभन्दा बढी कैलालीको गोदावरी नदीमा वातावरण प्रभाव मुल्यांकनको अवज्ञा गर्दै उत्खनन भइरहेको छ । गोदावरी नदीमा आधादर्जन जेसीबीहरु हालिएका छन् भने वातावरण प्रभाव मूल्यांकनमा बढीमा एक मिटर गहिरो खन्न सकिने प्रावधान विपरीत ५ मिटर सम्मका ठूला ठूला खाल्टा बनाइएका छन् ।
खैराना खोलामा नदीको बीचमा ठूला ठूला खल्टा हुने गरी उत्खनन गरिएको छ भने बस्तीतिर रहेको नर्सरीभीत्र पनि उत्खनन गरिएपछि त्यहाँका जनता नदी गाउँ पस्ने चिन्तामा छन् ।
जिल्ला भरीको नदीजन्य पदार्थको अनुुगमनका लागि जिल्ला समुन्वय समितिका प्रमुखको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, बन र आन्तरिक राजश्वका प्रमुख सदस्य रहेको समिति रहने प्रावधान रहेकाे छ ।
बिगत केही दिनदेखि नदीजन्य पदार्थको अवैध उत्खननका खबरहरु सामजिक सञ्जालमा आएपछि, जिल्ला स्थित नदिजन्य पदार्थ अनुुगमन समितिले आईतबार नदीमा रहेका जेसीबी, टिपर र ट्र्याक्टरहरु नियन्त्रणमा लिएको हाे ।