डडेल्धुराको किवी मंसिर पहिलो साताबाट बजारमा आउने


डडेल्धुरा : डडेल्धुरामा उत्पादित किवी मंसिर पहिलो साता बजारमा आउने भएको छ। जिल्लाको आलितालमा फलेको किवी मंसिर पहिलो साता र अमरगढी क्षेत्रमा फलेको किवी मंसिर अन्तिम साता तयार हुने किसानहरूले बताएका छन्।
डडेल्धुरामा किवी खेती हुन थालेको एक दसक नपुग्दै यसको विस्तार प्रदेशका अन्य पहाडी जिल्लामा पनि हुन थालेको छ। कम लागतमा राम्रो आम्दानी हुने भएकाले किवी खेतीमा किसानको आकर्षण बढेको कृषि अधिकारीले बताएका छन्। लगाएको दोस्रो वर्षबाट उत्पादन दिन थाल्ने किवीमा कुनै पनि रोग किराको प्रकोप नहुने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए।
‘किवीमा कुनै पनि रोग किराको प्रकोप हुन्न, राम्रोसँग हेरचाह गरे, राम्रो आम्दानी छ,’ उनले भने, ‘एक बोटमा डेढ क्वीन्टलसम्म फल्छ भने एउटा बोट ५० वर्षसम्म फल्छ।’ पौष्टिक र रसिलो फल किवीको उत्पादन सुदूरपश्चिममा हुन थालेदेखि बिक्री गर्न कुनै समस्या नभएको किसानले बताएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर २ लामी टुडाका लक्ष्मण थापा ९ वर्षदेखि किवी उत्पादन गरिरहेका छन्। ११० फल्ने र ११७ बोट भर्खरै रोपेको बताउने थापाले पाँच प्रजातिको किवी लगाएका छन्। यो वर्ष ३० क्वीन्टल किवी बिक्री गर्ने लक्ष्य राखेका थापाले बजारको समस्या भोग्नु नपरेको बताए। आफ्नो नर्सरीमा हेवार्ड, एलिसन, ब्रुना, मोन्टी र रेड किवी गरि पाँच प्रजातिको किवीको बिरुवा पनि बिक्री गर्दै आएको उनले बताए। ‘मैले सात रोपनीमा किवी खेती गरेको छु, अहिलेसम्म बजारको कुनै समस्या भएको छैन,’ उनले भने, ‘मैले फल मात्रै होइन, नर्सरी पनि राखेको छु, किवीको बिरुवा पनि बिक्री गर्छु।’

डडेल्धुराको अमरगढी १ भेटादहका गणेश ऐर जिल्लाकै पहिलो किवी लगाउने किसान हुन्। उनले किवीका २ सय बिरुवा रोपेका छन्। यो वर्षा ७० क्वीन्टल किवी बिक्री गर्ने योजना रहेको ऐरले सुनाए। ‘यो वर्ष मेरो बारीमा लगभग ७० क्वीन्टल किवी फल्ने अनुमान गरेको छु,’ उनले भने, ‘राम्रोसँग हेरचाह गर्‍यो भने किवी खेती गर्न सजिलो छ, आम्दानी पनि राम्रो छ।’

डडेल्धुरा जिल्लामा करिब एक सय किसान व्यवसायीक किवी खेतीमा संलग्न छन्। डडेल्धुरासहित मध्यपहाडी जिल्लामा किवी खेतीको विस्तार भइरहेको छ। मंसिरदेखि किवी खान योग्य हुन्छ भने, किसानले अहिलेसम्म बजारको समस्या भोग्नु परेको छैन। हिउँदमा खान तयार हुने किवीको नयाँ बिरुवा पनि हिउँदै रोप्नु पर्छ। किवी खेती गर्न चाहने किसानले पुसको पहिलो हप्तादेखि फागुन दोस्रो हप्तासम्म नयाँ बिरुवा रोप्न सक्छन्।

डडेल्धुरामा केही किसानहरूले नर्सरीबाट पनि राम्रो आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए। ‘किवी खेतीको बिस्तार मध्य पहाडी जिल्लामा भइरहेको छ, कृषि ज्ञान केन्द्रमार्फत बैतडी,अछाम,डोटी र बाजुरा जिल्लामा खेती सुरु भएको छ,’ उनले भने, ‘किवी खेती गर्‍यो भने बिक्री नहुने या किसानलाई घाटा हुने भन्ने अवस्था छैन।’

डडेल्धुरामा व्यवसायीक किवी खेतीमा संलग्न अधिकांश किसानले नर्सरी पनि राखेका छन्। किवीको बिरुवाको माग डडेल्धुराबाहेक अन्य जिल्लाबाट आउने गरेको किसानहरूले बताएका छन्। किवीको माग भने धनगढी र काठमाडौबाट बढी आउने गरेको कृषकहरूले बताएका छन्। साभार दिनेशखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0