खुश्बु खोखोमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउन चाहन्छिन्, च्याम्पियन बन्नका लागी बच्चा च्यापेर जान्छिन्,


गण्डकी प्रदेशमा यही असोज २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद हुने पक्का भएपछि खेलाडीहरू निकै उत्साहित भएका छन्। सुदूरपश्चिम प्रदेशले बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छ। विभिन्न ३३ विधामा सहभागी हुने गरी टिम र खेलाडी छनोट भएका छन्।

सुदूरपश्चिमका दूरदराज र विकट बस्तीका खेलाडीहरू समेत नवौं राष्ट्रिय खेलकुदका लागि कैलाली र कञ्चनपुर झरेका छन्।

बलियो सम्भावना भए पनि खेलबाट पलायन हुन लागेका कतिपय खेलाडीहरू समेत उक्त प्रतियोगिताका छनोट भएका छन्। खेल क्षेत्रबाट बाहिरिएर गृहिणी बनेकी धनगढी उपमहानगर, राजपुरकी खुश्बु राना नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट खोखो टिममा छनोटमा परेकी छन्।

गत साताको बिहीबार खुश्बु साढे दुई वर्षको छोराका साथ धनगढी रंगशालामा थिइन्। उनले सुदूरपश्चिमबाट खोखो टिममा कप्तानको जिम्मेवारी पाएकी छन्। खुश्बुले छोरालाई छेउमा राखेर तीन दिन छनोट प्रतियोगिता खेलिन्। अब हुने बन्द प्रशिक्षण र राष्ट्रिय खेलकुदमा पनि उनका छोरा साथमै हुनेछन्।

खुश्बु खोखोमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउन चाहन्छिन्। तीन वर्षअघि खोखोमा नेपाललाई च्याम्पियन बनाउने उनको धोको पूरा भएन।

‘नेपाललाई च्याम्पियन बनाउने सुनौलो अवसर पूरा गर्न सकिनँ। त्यसमा म दुःखी छु,’ उनले भनिन्, ‘सुदूरपश्चिमलाई जिताएर थोरै भए पनि दु:ख मेटाउन चाहन्छु।’

खुश्बुले कक्षा १० मा पढ्दा खोखो थालेकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका, राजघाटमा कक्षा ८ सम्म पढेपछि गेटास्थित एक स्कुलबाट १२ कक्षासम्म पढिन्। राजघाटबाट डेढ घण्टा साइकल चलाएर उनी गेटा पुग्थिन्, ओहोरदोहोर तीन घण्टा। उनी लङजम्प खेल्थिन्। कृष्णपुरको नगरस्तरीय लङजम्पमा जहिल्यै पहिलो–दोस्रो हुन्थिन्।

कक्षा १० मा पढ्दै गर्दा खोखो खेलबारे थाहा पाइन्।

उनले भनिन्, ‘स्कुलमा सिनियर दाइहरू खोखो खेल्थे। हामीलाई पनि सिकाउँथे। खेल्दै जाँदा खोखोमा रूचि बढ्यो।’

एक पटक धनगढीको बोराडाडीमा विद्यालयस्तरीय खोखो र कबडी प्रतियोगिता भयो, ९ वटा विद्यालय सहभागी थिए। खुश्बु आफू पढ्दै गरेको सरस्वती माध्यमिक विद्यालयको छात्रा टिमबाट खोखोमा सहभागी भइन्। उनको टिम दोस्रो भयो।
व्यक्तिगत रूपमा खुश्बुको प्रदर्शन उत्कृष्ट मानियो।

उक्त प्रतियोगिता खुश्बुका लागि खेल जीवनको कोशेढुंगा भयो। उनले जिल्ला स्तरीय टिममा अवसर पाइन्। कैलाली जिल्लाको महिला खोखो टिममा छनोट भइन्। धनगढीको रंगशालामा उनले मोतिराम पनेरुसहितका प्रशिक्षकहरूबाट प्रशिक्षण पाइन्। उनको घरबाट रंगशाला झन् टाढा थियो, एकोहोरो नै साइकलमा दुई घण्टा लाग्थ्यो। बाटोमा थोरै जंगल पनि पर्थ्यो।

‘कहिलेकाहीँ घर पुग्न धेरै ढिलो हुन्थ्यो। जंगलको बाटोमा डर हुन्थ्यो, केटी मान्छेलाई झन् धेर डर हुन्थ्यो। घरमा चिन्ता हुन्थ्यो,’ उनले भनिन्।

सातौं राष्ट्रिय प्रदेशस्तरीय छनोट प्रतियोगितामा कैलालीको खोखो महिला टिम प्रथम भयो। खुश्बु सुदूरपश्चिमबाट छनोटमा परिन्। उनको टिम तेस्रो भयो।

लगत्तै राष्ट्रिय लुम्बिनी च्याम्पियनसिप भयो। त्यसमा खुश्बुको सुदूरपश्चिम टिम दोस्रो भयो। प्रत्येक खेलमा खुश्बुको व्यक्तिगत प्रदर्शन उत्कृष्ट ठहरिन्थ्यो। उनी निकै बलियो सम्भावना भएकी खेलाडीका रूपमा अगाडि आइन्।

खुश्बुले आठौं राष्ट्रिय खेलकुदमा आफ्नो टिमको नेतृत्व गरिन्। उनी ‘रेकर्ड ब्रेकर रनर’ भइन्।

आठौं राष्ट्रिय खेलकुदमा खुश्बुको प्रदर्शन सर्वोत्कृष्ट ठहरिएपछि उनी राष्ट्रिय महिला खोखो टिममा परिन्।

खेल जीवनमा उनको यो अर्को लामो फड्को थियो।

‘राष्ट्रिय टिममा परेपछि म निकै खुसी भएँ। छनोट भएकै दिन च्याम्पियन बन्छु भन्ने सोचेकी थिएँ,’ उनले भनिन्।

खुश्बु तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको खोखो राष्ट्रिय महिला टिममा छनोट भइन्। त्यही समय गर्भवती रहेका कारण नेपाललाई च्याम्पियन बनाउने उनको धोको पूरा भएन। नेपाली टिम तेस्रो भयो।

यसपछि खुश्बु खेलबाट बाहिर भइन्। आफ्नै काममा लागिन्।

‘छोरो जन्मियो। उसलाई हुर्काउनु पर्यो। करिब चार वर्ष म खोखोबाट बाहिर भएँ। श्रीमानसँगै पसलमा दिन बिते,’ उनले भनिन्।

खुश्बुले खेलमा फर्किने आशा छाडिसकेकी थिइन्।

करिब १५ दिनअघि अचानक जिल्ला खेलकुदबाट फोन आयो। नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश टिम छनोटमा सहभागी हुन प्रशिक्षकहरूले खबर गरे।

खुश्बु दोधारमा परिन्। फेरि खेलमा लाग्ने कि नाइँ, अलमलमा परिन्। श्रीमानसँग सल्लाह गरिन्।

खुश्बुले प्रशन्न मुद्रामा भनिन्, ‘श्रीमानले त खेल्नु पर्छ, मौका छाड्नु हुन्न भन्नुभयो।’

उनको हर्षको सीमा रहेन।

खेल्न त खेल्ने तर कसरी! साथमा तीस महिना उमेरको छोरो छ। उसलाई कसरी छाड्नु! मनमा अलमल भयो। उनले मन बलियो बनाइन्। छोरो घरमै छाडेर जाने भइन्। सबै तयारी भयो तर छोरो मान्ने छाँट देखिएन। रोएर उत्पात भयो।

आमाको मन न हो! आखिर छोरो बोकेरै धनगढी पुगिन्। गत साता तीन दिन छनोट प्रतियोगिता खेलिन्। खुश्बु टिममा परिन्। सुदूरपश्चिमको १२ जनाको महिला खोखो टिममा कप्तान उनै छानिइन्।

धेरै समय छुटेको खेल, सजिलो किन हुन्थ्यो।

‘लामो समय अभ्यास नहुँदा खेल्न अलिक गाह्रो भयो तर मनको ऊर्जाले काम गर्यो। राम्रो खेल्न सकेँ,’ उनले भनिन्।

यसरी खुश्बु काखका छोरो लिएरै नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने भएकी छन्। उनी सुदूरपश्चिमलाई च्याम्पियन बनाउन कम्मर कसेर लागेकी छन्।

प्रशिक्षक मनोज राईका अनुसार सुदूरपश्चिमको महिला खोखो टिम निकै राम्रो छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0