आर्मी टिमलाई हराउँदै एपिएफ फाइनलमा प्रवेश


महेन्द्रनगर : विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपिएफले फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले आर्मीलाई २५–२०, १४–२५, २८–३०, २५–१४ र १५-१३ काे सेटमा पराजित गरेकाे थियाे ।

यसपछि एपिएफले उपाधिका लागि शनिबार गण्डकी प्रदेशसँग खेल्नेछ । आर्मीले तेस्रो स्थानको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसअघि शुक्रबारै भएको पहिलो सेमिफाइनलमा गण्डकीले पुलिसमाथि २०–२५, २५–१५, १९–२५, ३१–२९ र १५–७ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टिमले १ लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिने छ । चौथो हुने टिमलाई सान्त्वना स्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विधाका खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभाग एपिएफ, पुलिस र आर्मी गरी १० टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0