सुदूरपश्चिममा भयावह बन्दै ‘देहत्याग’ (आत्महत्या ), यस्ता छन् कारण


अत्तरिया : सुदूरपश्चिममा देहत्याग (आत्महत्या) दर भयावह बन्दै गएको छ। प्रदेशभित्र तीन वर्षमा एक हजार ८ सय ८ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ।

उनीहरुले विष सेवन, आगो लगाएर, झुण्डिएर, हाम फालेर, करेन्ट लाएर, हातहतियार प्रयोग गरेर तथा नदीमा हाम फालेर देहत्याग गरेको प्रहरीले जानकारी दिएको छ। जसमध्ये विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अभिलेख छ।

प्रदेशभित्र आर्थिक वर्ष २०७६र७७ मा विष सेवन गरेर १ सय २४ र झुण्डीएर ४ सय ७ र नदीमा हाम फालेर १३ सहित ५ सय ४७ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ। यो संख्या आर्थिक वर्ष २०७७र७८ मा बढेर ६ सय ८६ पुगेको छ।

प्रदेशभित्र आत्महत्या गर्ने दर आर्थिक वर्ष २०७८र७९ मा थोरै घटेको पाइएको छ। सो अवधिमा विष सेवनबाट १ सय ३, झुण्डिएर ४ सय ६६, हाम फालेर ३, नदीमा डुबेर २ तथा आगो लगाएर एक गरी ५ सय ७३ जनाले आत्महत्या गरेको देखिएको छ।

स–सानो विषयमा पनि आवेगमा आएर यसरी आत्महत्या गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको प्रहरी तथ्यांकबाट देखिएको हो। देहत्याग सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा बढ्दै गएको देखिएको छ। आत्महत्याको केश पछिल्लो समय जिल्लाभित्र बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। ‘अपरिपक्क उमेर, मायाप्रेममा धोका लगायत कारण यस प्रकारको घट्ना बढ्दै गएको देखिन्छ। यसका लागि अभिभावक आफ्ना छोराछोरीको आनाबानीप्रति बेलैमा सचेत बन्नुपर्ने हुन्छ’ उनले भने। कुनै एउटा निकायको एक्लो प्रयासबाट मात्र यस्ता घटनालाई न्यूनिकरण गर्न सहज नहुने प्रहरी बताउँछ।

निम्न र मध्यम आय भएका परिवारका सदस्यले आत्महत्या गर्नेक्रम बढेको देखिन्छ। यसका साथै मानसिक समस्या, अशिक्षा, बेरोजगारी, प्रेममा धोका लगायत कारण पनि आत्महत्या दर बढ्दो छ। रिस, निराश, डाहा, दुःख, नकारात्मक सोच र पीडाका सुरुवाती चरणलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको सोच आउने गरेको सेती प्रादेशिक अस्पतालकी मनरोग विशेषज्ञ डाक्टर निलम जोशी बताउँछिन्।

‘आत्महत्या एक संवेदनशील अनि जटिल विषय भएकाले यसलाई एक मात्रै निकायको प्रयासबाट रोक्न सकिने अवस्था देखिदैन’ उनी भन्छिन्, ‘नकारात्मक सोच र पीडालाई व्यवस्थापन गर्न नसक्नु आत्महत्या गर्नुको मुख्य कारण हो भने यस्तो घटना हुन नदिन उसको आनीबानी र व्यहोरा थाहा पाइराख्नुपर्ने हुन्छ।’

कलिलो र युवा उमेर समुहका व्यक्तिमा बढी नैराश्यता र रिस क्रोध छिनछिनमा आइरहने अवस्थाका कारण यसप्रकारको घटना बढ्दै गएको मनोरोग विशेषज्ञ जोशीले बताइन्। प्रत्येक आत्महत्याको पछाडि २० देखि २५ असफल प्रयास हुने र प्रत्येक आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर पार्ने चिकित्सक बताउँछन्। आत्महत्याको जोखिम भएकाहरूको आफन्तले जोखिमको कारणहरू पहिल्यै आकलन गर्न जरुरी छ।

जोखिममा रहेका कुनै पनि व्यक्ति आत्महत्या गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा थाहा पाउन सबैभन्दा प्रभावकारी तरिका भनेको सीधा साधपुछ गर्नु रहेको मनोरोग विशेषज्ञ बताउँछन्। उनीहरुलाई आवश्यक परामर्शका लागि मनोरोग परामर्शदता तथा मनोचिकित्सक समक्ष पुर्‍याउनु सक्नु नै उपयुक्त हुने विज्ञको सुझाव छ। (साभार- दिनेशखबर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0