सुदूरपश्चिममा डेंगुको संक्रमणबाट ३ जनाको मृत्यु


अत्तरिया: सुदूरपश्चिममा लामखुट्टेबाट सर्ने डेंगुको संक्रमण गतवर्ष भन्दा बढेको छ। कैलाली कञ्चनपुरसहित सुदूर पहाडका जिल्लामा डेंगुको संक्रमण गत वर्षभन्दा तेब्बरले बढेको छ। गत वर्ष ८८ जनामा डेङ्गु देखिएकोमा यो वर्ष भने हालसम्म मात्रै २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ।
विगतमा डेंगुको संक्रमण तराइमा बढी देखिने गरेको थियो। तर, पछिल्लो समय भने, पहाडी जिल्लामा यसको जोखिम बढी छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा ८४ जना डेंगुका संक्रमित फेला परेका छन्। यस्तै स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा १६ जनामा डेंगु देखिएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार दार्चुलामा ४६ जना, कञ्चनपुरमा ३०, डोटीमा १५, अछाममा १०, बैतडीमा ९, बझाङ र बाजुरामा ७/७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी ओमप्रकाश जोशीले प्रदेशको सबै जिल्लामा डेंगुका बिरामी फेला परेको बताए। ‘थप संक्रमण फैलिन नदिन लाखुट्टेको सम्भावित स्थान पहिचान गर्ने र नष्ट गर्ने काम भइरहेको छ’ उनले भने।

सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेङ्गुको संक्रमण फैलिने गरेको छ। सुदूरपश्चिममा हरेक वर्ष यसको संक्रमण उकालो लाग्ने क्रममा छ। उच्च पहाडी जिल्ला दार्चुलाको महाकाली नगरपालिका लगायत मालिकार्जुन गाउँपालिका, दुहुँ, नौगाड, र हिमाली क्षेत्रमा पर्ने व्याँस तथा अपिहिमाल गाउँपालिकामा समेत डेंगु संक्रमण भेटिने गरेको छ। त्यसकारण पनि डेंगु नियन्त्रणमा ध्यान नदिए जोखिम झनै बढ्ने अनुमान गरिएको छ।

दार्चुलाको ६ पालिकामा डेंगुका संक्रमित फेला परेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए। ‘दार्चुलामा डेंगुका विरामी ६ पालिकामा देखा परेका छन्,’ उनले भने, ‘हामीले परीक्षणको दर पनि बढाएका छौँ,’ उनले भने, ‘लामखुट्टेको सम्भावित स्थान नष्ट गर्ने काम पनि भइरहेको छ।’

एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने चिकित्सकले बताएका छन्। भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धति विकास भएको छैन। तर लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्।

के हुन् डेंगुका लक्षण?
अचानक उच्च ज्वरो आउने, आँखा वरिपरि तथा कञ्चट धेरै दुख्नु, घाँटी बस्नु, शरीरमा साना बिमिरा आउनु र शरीर चिलाउने लक्षण देखापर्ने चिकित्सकले बताएका छन्। यस्तै, वाकवाकी लाग्नु, छटपटी हुनु, रिंगटा लाग्नु, निन्द्रा नलाग्नु, हड्डी तथा मांशपेशी निकै दुख्नु, आँखा तथा घाँटी रातो हुनु र छाला तथा नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्ने चिकित्सकले बताएका छन्।

डेंगु संक्रमण भएमा जथाभावी औषधि सेवन नगर्न चिकित्सकले सुझाव दिएका छन्। डेङ्गु संक्रमणमा ज्वरो निको भएपछिका १० दिनमा स्वास्थ्यमा जटिलता आउने भएकाले चिकित्सको निगरानीमा रहनु उपयुक्त हुने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘डेंगु भएमा जथाभावी औंषधि सेवन गर्नु हुँदैन,’ उनले भने, ‘मेडिकलबाट जथाभावी औंषधि सेवन गरे स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ, त्यसैले चिकित्सकको सल्लाहमा मात्रै औंषधि खानुपर्छ।’

डेंगु संक्रमण गराउने लामखुट्टे सफा पानीमा हुने भएकाले घर वरिपरि पानी जम्न नदिन तथा लामखुट्टे नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको छ। हालसम्म सुदूरपश्चिम प्रदेशमा डेंगुकै कारण तीन जनाको मृत्यु भइसकेको छ। कैलालीका २ र दार्चुलाका एक जनामो ज्यान गएको निर्देशनालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0