सामुदायीक विद्यालयको शिक्षामा सुधार गरौं


मानिसलाई बौद्धिक रुपमा सक्षम बनाउन शिक्षाको महत्वपुर्ण भुमिका हुन्छ । अहिलेको अवस्थामा शिक्षा विनाको मानिस अपुरो छ, अधुरो छ । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जिवनको यती महत्वपुर्ण चिजलाई सहज र सरल रुपमा प्राप्त गर्नु आम नागरिकको अधिकार भित्र पर्दछ ।

सरकारले नागरिकको सहजताका लागी नै विभिन्न स्थानमा सामुदायीक विद्यालयहरु सञ्चालन गरिरहेको छ । केही वर्ष अगाडी सम्म त्यस्ता विद्यालयहरुमा विद्यार्थीहरुको संख्या पनि बढी हुन्थ्यो । तर आजकल प्रायजसो सामुदायीक विद्यालहरुमा विद्यार्थीहरुको संख्या न्यून हुदै गईरहेको छ ।

विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको भन्दै अहिले अभिभावकहरुले सामुदायीक भन्दा निजी विद्यालयहरुमा आफ्ना नानीबाबुहरुलाई भर्ना गर्ने चलन बढेको छ । सामुदायीक विद्यालयहरुमा परम्परागत शिक्षा प्रणालीबाट मात्रै अध्यापन भैरहेकाले पनि अभिभावकहरुको रोजाईमा निजी विद्यालयहरुले स्थान लिईरहेका छन ।

सामुदायीक विद्यालयहरुमा सरकारले दक्ष जनशक्ति दिएको छ, भौतिक संरचनाहरु दिएको छ, माध्यमिक तहसम्म निःशुल्क अध्यापन गराईने समेत निर्णय गरेको छ । तर, पनि सामुदायीक विद्यालयहरुको सट्टा निजी विद्यालयहरुमा अभिभावकहरुको आकर्षण किन त ?

निजी विद्यालयहरुले व्यवस्थापन पक्ष बलियो र दरिलो बनाएका छन, रोजगारमुलक शिक्षालाई प्राथमिकता दिएका छन, किताबमुखी मात्रै नभई बाह्य सिपहरुको प्रस्फुटनका लागी पनि विद्यार्थीहरुलाई अभिप्ररित गर्ने र उनीहरुलाई स्थान दिने गर्दछन । त्यसैले निःशुल्क शिक्षा भन्दा पनि महंगो शिक्षालाई अभिभावकहरुले अंगालेका छन ।

तर, सामुदायीक विद्यालयहरुमा यस्तो छैन । सामुदायीक विद्यालयहरुले परम्परागतबादी शैक्षणिक पद्धतीलाई अंगालेका छन । जनशक्ति दक्ष छ, तर विद्यालयको व्यवस्थापन पक्ष एकदमै फितलो हुँदा त्यो दक्ष जनशक्ति पनि काम नलाग्ने बनेको छ । सामुदायीक विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई शिक्षा दिने भन्दा पनि आफ्नो पिरियडको समय कसरी सक्ने भन्ने तिर ध्यान दिएका हुन्छन ।

त्यसैले गर्दा सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्किदै गईरहेको अवस्था छ । यस्तै अवस्था रहे सामुदायीक विद्यालयहरुलाई बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । सामुदायीक विद्यालयहरुमा विद्यार्थी र अभिभावकहरुको रुची जगाउन शिक्षाको गुणस्तरमा मुख्य रुपमा ध्यान दिन जरुरी छ । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई अहिले आवश्यक रहेको रोजगारमुखी प्राविधिक शिक्षामा पनि जोड दिन आवश्यक छ ।

विद्यालयको व्यवस्थापन पक्ष बलियो भए सबै कुरा सम्भव हुने भएकाले पहिलो प्राथमिकतामा विद्यालयलाई व्यवस्थापकिय रुपमा दरिलो बनाउन जरुरी छ ।

सरकारले नागरिककै लागी भनेर शिक्षामा वर्षेनी करोडौ लगानी गरीरहेको छ । तर सो लगानीलाई सरकारले नै व्यवस्थीत गर्न नसकेकाले सामुदायीक विद्यालयहरु कमजोर बन्दै गईरहेका छन, त्यसका लागी सम्बन्धीत निकायले सामुदायीक विद्यालयहरुको अनुगमन गर्ने कार्य पनि गर्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0