देउवाको गृह जिल्ला डडेल्धुरामै कांग्रेस संकटमा, पार्टी कार्यालय नै मल्ल पक्षको ‘कब्जा’मा


अत्तरिया । प्रधानमन्त्री शेरबहादुर देउवा र डडेल्धुरा कांग्रेसका पूर्व सभापति कर्णबहादुर मल्लको आन्तरिक द्वन्द्व बढ्दै जाँदा देउवाको गृह जिल्लामा कांग्रेस ‘चरम संकट’ मा फसेको छ ।

पार्टीको आन्तरिक समस्या समाधान नहुँदा त्यसले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा कांग्रेसले थप क्षति व्यहोर्ने आकलन समेत भएको छ । पार्टी संस्थापन पक्षले ‘बाइपास’ गर्दै जाँदा विद्रोह गरेर मल्लले एमालेसँग गठजोड गरेका छन् ।

कांग्रेस (वीपी) दलबाट उनले सत्ता गठबन्धनकै प्रमुख प्रतिस्पर्धी एमालेसँग तालमेल गरेका छन् । मल्ल कांग्रेस (वीपी) मा गएर एमालेसँग तालमेल गरेपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

कांग्रेस स्रोतका अनुसार मल्ल पक्षले अप्ठेरो पारेको गुनासो गर्न एक महिनाअघि डडेल्धुराका सभापति भीमबहादुर साउदसहितको टोली बालुवाटार पुगेको थियो । उक्त टोलीले मल्ल पक्षले असहयोग गरेको सुनाएपछि प्रतिउत्तरमा देउवाले फर्काएको जवाफ बारे कांग्रेस स्रोत भन्छ, ‘जिल्लाको सबै म्यानेज मैले गरिदिनुपर्छ ? जिल्ला सभापति बनाइदिएँ त । जिल्लाको सबै कुरा मैले हेर्नुपर्ने भए किन सभापति बनेको ?’

गत निर्वाचनमा जिल्लाका चार पालिकामा निर्वाचित भएको कांग्रेसलाई यसपटक बचाउन मुश्किल पर्ने डडेल्धुराका एक कांग्रेस नेता बताउँछन् ।
गुनासो गर्न आएको टोलीलाई देउवाले उल्टै झपारेपछि उनीहरु यसै फर्किएका थिए ।

पार्टी कार्यालय नै मल्ल पक्षको ‘कब्जा’मा

‘एकतर्फी’ अधिवेशनबाट संस्थापन पक्षले नयाँ नेतृत्व चयन गर्‍यो । साउद जिल्ला सभापति चयन भए । तर, नयाँ कार्यसमितिले आफ्नो काम पार्टी कार्यालयबाट सञ्चालन गर्न सकेको छैन ।

मल्ल सभापति हुँदा बनेको भवनबाट अहिले कांग्रेस ९बीपी०को चुनाव प्रचार भइरहेको छ । ‘कांग्रेस ९बीपी०को बोर्ड सहित करुवा चुनाव चिह्नको प्रचार त्यही कार्यालयबाट भइरहेको छ । नयाँ कार्यसमिति अहिलेसम्म आफ्नै कार्यालय जान सकेको छैन’ डडेल्धुराका कांग्रेसका एक शुभेच्छुक भन्छन् ।

साउद नेतृत्वको कार्यसमितिले होटलबाट पार्टीको काम गरिरहेको छ । उम्मेदवार छनोट गर्नका लागि जिल्ला समिति बैठक पनि होटलमै बसेको थियो ।

नवनिर्वाचित टिम कार्यालयमा जान नसकेपछि मल्ल पक्षले निर्धक्कसँग भवनको प्रयोग गरिरहेको छ । ‘उहाँहरु खै किन आउनुभएन । उहाँहरु नआएपछि कार्यालय हामीले प्रयोग गरिरहेका छौं,’ कांग्रेसका पूर्व कार्यालय सचिव रामबहादुर विष्टले भने । विष्ट कांग्रेसको असन्तुष्ट पक्षका नेता मल्लका स्वकीय सचिवसमेत हुन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा निर्माण गरिएको उक्त भवनलाई ‘किसुनजी भवन’ भनिँदै आएको छ । मल्ल पक्षले कार्यालय ‘कब्जा’ गरेपछि कांग्रेस कार्यालयविहीन भएको छ । किसुनजी भवनलाई भाडामा लिएर पार्टीले विगतदेखि नै सञ्चालन गर्दै आएको विष्ट बताउँछन् ।

अमगरगढी नदिँदा एमालेसँग तालेमल

गत निर्वाचनमा जिल्लाका चार पालिकामा निर्वाचित भएको कांग्रेसलाई यसपटक बचाउन मुश्किल पर्ने डडेल्धुराका एक कांग्रेस नेता बताउँछन् । ‘चुनावमा हामीलाई पनि मिलाएर लानुपर्छ भन्ने मल्ल पक्षको माग थियो । डडेल्धुरा कांग्रेसमा संस्थापन पक्ष अहिले हाबी भएको छ,’ ती जिल्ला नेता भन्छन्, ‘अमरगढी नगरपालिकामा मल्ल पक्षलाई दिन देउवा पक्ष तयार भएनन् ।’

अमरगढीको प्रमुख आफ्नो पक्षले पाए अन्यमा लचिलो हुने मल्ल पक्षले प्रतिवद्धता जनाएको थियो । तर, जिल्ला सदरमुकामसमेत रहेको अमरगढीको उम्मेदवार मल्ल पक्षबाट बनाउन संस्थापन पक्ष तयार भएन । अमरगढी नपाएपछि मल्ल समूह एमालेतिर ढल्कियो ।

अघिल्लोपटक आफूले जितेको अमरगढी मल्ल पक्षलाई छोडिदिन एमाले तयार भयो । हरि भट्टलाई प्रमुखको उम्मेदवार बनाएर एमाले उपप्रमुख लिन तयार भएको छ । एमालेबाट उपप्रमुखमा यज्ञराज अवस्थीले उम्मेदवारी दिएका छन् ।

‘मल्ल पक्षका हरि भट्ट अमरगढीमा बलियो छन् । कांग्रेसलाई अरु स्थानमा हराउन भएपनि एमाले अलि लचिलो बन्यो,’ कांग्रेसका एक जिल्ला नेता भन्छन् । अमरगढीमा कांग्रेसले डिल्लीराज जोशीलाई प्रमुख र पार्वती झुकाललाई उपप्रमुखको उम्मेदवार बनाएको छ । कांग्रेसबाट अघिल्लोपटक पनि प्रमुखमा जोशी पराजित भएका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा अमरगढीमा एमालेले मेयर र उपमेयर दुबै पदमा जितेको थियो । त्यही चुनावमा मल्ल पक्षकै असहयोगले कांग्रेस हारेको डडेल्धुराका कांग्रेस नेताहरुले बताउँदै आएका छन् । आफ्नो उम्मेदवार बलियो भएको दावी गर्ने मल्ल पक्ष एमालेको सहयोगले अमरगढीमा जित निकाल्नेमा ढुक्क छ ।

एमालेसँग तालमेल हुन नसके स्वतन्त्र उम्मेदवारी दिने मल्ल पक्षको तयारी थियो । स्वतन्त्र उम्मेदवार हुँदा चुनाव चिह्न नै फरक फरक हुनसक्ने भयले कांग्रेस ९बीपी० पार्टी उनीहरुले रोजेका थिए ।

मल्लले तालमेल गर्दा समेत चलाखी अपनाएका छन् । डडेल्धुरा प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ का बासिन्दा उनले आफ्नो क्षेत्रमा रहेका पालिकाहरुको प्रमुखको उम्मेदवार एमालेलाई छोडेका छैनन् । अमरगढी नगरपालिकाको प्रमुख, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाको अध्यक्ष मल्ल पक्षका उम्मेदवार छन् ।

‘रणनीतिक रुपमा लाभ हुने गरी मल्लले तालमेल गरेका छन् । जुनरजुन पालिका आफ्नो पक्षमा राखेका छन्, तिनीहरुमा राम्रै व्यक्तिलाई उम्मेदवार बनाएका छन् । कमजोर उम्मेदवार बनाएका छैनन्’, ती नेता भन्छन् । परशुराम नगरपालिका, अजयमेरु र भागेश्वर गाउँपालिकामा भने एमालेले प्रमुख पदको उम्मेदवार पाएको छ ।

अजयमेरु गाउँपालिकामा कांग्रेसले जित निकाल्न कठिन छ । माओवादी केन्द्रका नेता खगराज भट्टका भाइ उमेश भट्ट गत निर्वाचनमा यस पालिकामा निर्वाचित भएका थिए । उत्कृष्ट गाउँपालिकामा अजयमेरु पनि पुरस्कृत भएको थियो । अजयमेरुको अध्यक्षका लागि एमालेका पदम पाल र उपाध्यक्षमा मल्ल पक्षका रामचन्द्र ऐर उम्मेदवार छन् ।

ऐरले विगतमा देउवाको सचिवालयमा बसेर काम गरेका थिए । कांग्रेसबाट टेकराज पाण्डेयले अध्यक्ष र विप्लव समूहकी पूर्णिमा धामीले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
चुनाव प्रचारका लागि डडेल्धुरामा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य नैनसिंह महर भन्छन्, ‘अजयमेरुमा प्रतिस्पर्धा हुन्छ । अरुमा कांग्रेसले जित्न गाह्रो छैन ।’ डडेल्धुरामा मल्ल पक्षको हल्लामात्रै बढी भएको उनले बताए ।

महरको भनाइलाई मल्ल पक्षले भने प्रतिवाद गरेको छ । कांग्रेसले कुनै पनि पालिकामा जित निकाल्न नसक्ने मल्ल पक्षको दाबी छ । ‘३र३ गरेर अध्यक्ष र प्रमुखको भागवण्डा गरेका छौं ।’ मल्ल पक्षका जिल्ला नेता रामबहादुर विष्ट भन्छन्, ‘कांग्रेस वीपीबाट हामीले जित्छौं । अरुमा एमालेले जित्छ ।’

गत निर्वाचनमा कांग्रेसले परशुराम नगरपालिकासहित भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका जीत निकालेको थियो । परशुराममा थोरै मतान्तरले वर्तमान जिल्ला सभापति साउद निर्वाचित भएका थिए ।

मल्ल पक्षले आलितालमा भने एमालेसँग गठबन्धन गरेको छैन । आलितालमा गत निर्वाचनमा विजयी बलबहादुर गुरुङप्रति मल्लको सहानूभूति रहेकाले पनि तालमेल नगरिएको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । कांग्रेसले फेरि उम्मेदवार बनाएका गुरुङ कांग्रेस संस्थापनमै छन् ।

परशुराम नगरपालिकामा कांग्रेसले मेयरमा उठाएका भरत जोशी जिल्ला राजनीतिमा नयाँ अनुहार भएकाले जित निकाल्न कठिन रहेको कांग्रेसकै नेता बताउँछन् ।

‘अघिल्लोपटक कांग्रेसले दुई सय जति मतान्तरले जितेको हो । माओवादीको उम्मेदवार बलियो छन्’, कांग्रेस एक जिल्ला नेता भन्छन्, ‘माओवादीको प्रभाव क्षेत्र पनि हो । कांग्रेसबाट उम्मेदवार बनेका भरत नगरपालिकाभरि नै नयाँ अनुहार हुन् ।’

यसैपटक उनी कांग्रेसको नगर सभापति बनेका थिए । यस पालिकामा मल्ल पक्षले एमालेका केशव बोहरालाई सघाउने छ भने उपमेयरमा मल्ल पक्षबाट गोपा थापाले उम्मेदवारी दिएका छन् ।

भागेश्वर गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा कांग्रेसले कठिनसँग जित निकालेको थियो । यस पालिकासहित आलिताल र गन्यापधुरामा निर्वाचित हुने अपेक्षा कांग्रेसको छ । गन्यापधुरा सभापति देउवाको गृह पालिका हो । अमरगढी र परशुराम नगरपालिकासहित नवदुर्गा, अजयमेरुमा कांग्रेसले जीत निकाल्न कठिन रहेको जिल्ला नेताहरुको बताउँछन् ।

परशुराम, अजयमेरु र आलितालको प्रमुख उम्मेदवार माओवादीले मागेपछि सत्ता गठबन्धनका दल बीच तालमेल हुन सकेको थिएन । कांग्रेसले दुई पालिका मात्रै दिन तयार भएको थियो । एमालेले जितेका दुई पालिका एकीकृत समाजवादीले माग गरेपछि आ आफ्नो तरिकाले प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो ।

देउवा–मल्ल टकरावको श्रृङ्खला

देउवा र मल्लको विवाद पार्टीको १३ औं महाधिवेशनबाटै सुरु भएको थियो । तत्कालीन समयमा देउवाले रघु भट्टलाई जिल्ला सभापति बनाउन खोजेका थिए । भट्टलाई सभापति बनाउन खोज्नुमा देउवा भन्दा आरजु राणाको जोडबल थियो । ‘कर्ण मल्ललाई दोहोर्‍याउनै हुँदैन भनेर उहाँ ९आरजु० लाग्नुभयो,’ जिल्ला तहका एक नेता भन्छन् ।

१२ औं महाधिवेशनमा सम्बन्ध समधुर रहेका आरजु र मल्लको हार्दिकता १३ औं महाधिवेशनमा आइपुग्दा भंग भइसकेको थियो । आरजुले चाहेका व्यक्ति भट्ट र मल्लबीच प्रतिस्पर्धा भयो । अत्यन्तै झिनो मतले मल्लले भट्टलाई पराजित गरेका थिए । १२ औं महाधिवेशनमा भने देउवाकै तदरुकतामा सर्वसम्मत रुपमा मल्ल सभापतिमा चयन भएका थिए ।

१४ औं महाधिवेशनसम्म आइपुग्दा देउवा र मल्लको द्वन्द्व थप चर्कियो । मल्ल नेतृत्वको कार्यसमितिले पठाएको झण्डै चार सय क्रियाशील सदस्यता केन्द्रले बदर गरिदियो । जिल्लादेखि केन्द्रसम्म अनसन बस्दा समेत सुनुवाइ नभएपछि मल्ल पक्षका कार्यकर्ताले महाधिवेशनमा प्रवेश गर्ने बाटो नै बन्द भयो ।

एक समय देउवाका सर्वाधिक विश्वासपात्र थिए मल्ल । ‘देउवा प्रधानमन्त्री हुँदा बालुवाटार वा नहुँदा बुढानीलकण्ठमा मल्लको रजगज थियो । डडेल्धुराराका जिल्ला नेताहरु त्यहाँ जान पनि डराउँथे’ स्थानीय एक नेता सम्झिन्छन् ।

बालुवाटार रहँदा मल्लमाथि ‘आर्थिक अनियमितता’ गरेको आरोप लाग्यो । त्यही विषय बल्झिँदै जाँदा मल्लको आरजुुसँग पनि सम्बन्ध बिग्रिएको थियो । परिणामतः देउवा सचिवालयबाट मल्लको बाहिरिन पुगे । ‘देउवाको सचिवालयबाट मल्ल हटेपछि मात्रै नैनसिंह महर र डडेल्धुराका पूर्व जिल्ला सभापति रघु भट्टहरुको सहज प्रवेश भएको हो’, संस्थापन पक्षका एक नेता भन्छन् ।

देउवा र मल्लको विवाद बढ्नुमा अर्को कारण महिला संघको जिल्ला नेतृत्वको विषय पनि थियो । १३ औं महाधिवेशन पश्चात् अध्यक्ष मल्लले महिला संघको अध्यक्ष कमला विष्टलाई बनाउन खोजे । आरजु राणा विष्टको विपक्षमा देखिइन् । महिला संघको अधिवेशनमा दुई पक्ष बीच झडपको स्थिति पैदा भयो ।

ओलीतिर ढल्कदै मल्ल

कांग्रेसको घोषणापत्रका विरुद्धमा वैशाख १३ मा एमाले अध्यक्ष केपी ओलीले चर्को विरोध गरेका थिए । त्यसको दुई दिन पछि कांग्रेस महामन्त्री गगन थापाले ओलीको बोलीमा प्रतिवाद गरेका थिए । थापाले भनेका थिए, ‘ओलीलाई बालकोट नै गएर ट्युसन पढाउँछु ।’ थापाको उक्त बोलीको डडेल्धुराबाट वैशाख १५ मा मल्लले प्रतिवाद गरे ।

उनले थापालाई भनेका थिए, ‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफिस्टो नै छैन’, मल्लले भने, ‘केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु । बिपीले स्थापना गरेको मेनिफिस्टो र अहिलेको मेनिफिस्टो मिल्छ ?’

 

मल्लको यस अभिव्यक्तिलाई कतिपयले संघको निर्वाचनतिर उनको ध्यान पुगिसकेको बुझेका छन् । ‘केपी ओलीको भाषा उहाँ (मल्ल) बोल्न थालिसक्नुभएको छ,’ ती नेता भन्छन् ।

कांग्रेसको आफ्नो पक्षको मत तथा एमालेका मतसहित संघको निर्वाचनमा देउवालाई चुनौती दिने लाइनमा मल्ल देखिएका छन् । डडेल्धुराको संसदीय निर्वाचनमा कांग्रेस पछि माओवादी केन्द्र बलियो देखिँदै आएको छ । २०६४ सालमा माओवादीका उम्मेदवारसँग शेरबहादुर देउवा झिनो मतले विजयी भएका थिए ।

‘एकातिर, मल्लको बलले तालमेल सम्भव भएको छ । त्यसैकारण, उनले पार्टीको कारबाही भोग्न परेको छ,’ ती नेता भन्छन्, ‘देउवालाई हराउनका लागि एमालेले मल्ललाई संघको उम्मेदवार बनाउन सक्छ । मल्ल स्वयं पनि देउवासँग प्रतिस्पर्धा गर्ने पक्षमा देखिन्छन् ।’

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका तारा जोशीलाई करिब दुई सय मतले पराजित गर्दै मल्ल निर्वाचित भएका थिए । जोशी हाल एकीकृत समाजवादीमा आवद्ध छन् । केन्द्र तथा प्रदेशमा गठबन्धनबीच तालमेल भएमा एकीकृत समाजवादीबाट पुनः प्रदेश सदस्यमा जोशीले उम्मेदवारी पाउने सम्भावना रहन्छ ।

मल्लको साथमा जिल्ला तहमा परिचित नेताहरु लोकराज भट्ट, हरि भट्ट, गुणाकर भट्ट, कमला विष्ट, रामबहादुर विष्टलगायत छन् । जिल्लामा संगठन विस्तारमा समेत मल्ल खटिने हुँदा एमालेसँग तल्लो तहसम्म तालमेल सम्भव भएको उनी पक्षीय नेताहरु बताउँछन् ।

पाँच पटक प्रधानमन्त्री भएर पनि जिल्लालाई देउवाले महत्व नदिएको गुनासोलाई मल्ल पक्षले ‘क्यास’ गर्ने प्रयास पनि गरेको छ । गृह जिल्लामा देउवा कमै पुग्ने गरेका छन् ।

देउवाको चुनाव चिह्न पनि करुवा नै थियो

चुनाव प्रचारका लागि डडेल्धुरा पुगेकी प्रधानमन्त्री देउवाकी पत्नी, कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले कांग्रेसलाई जिताउन आह्वान गर्नुका साथै करुवा (मल्ल पक्षको चुनाव चिह्न) मा मत नदिन पनि आग्रह गरिन् । त्यस क्रममा उनले केही विवादित अभिव्यक्ति दिएको कांग्रेसकै नेताहरु बताउँछन् ।

‘बोल्नै नहुने २/३ कुरा बोल्नुभयो,’ जिल्लास्तरका ती नेता भन्छन्, ‘चप्पल लाएर काठमाडौं गएकाहरुको कसरी सम्पत्ति जम्मा गरे भन्नुभयो । देउवा पनि त चप्पल लगाएरै काठमाडौं गएका थिए होला नि १’

करुवा, सरुवा र हरुवा भनी आरजुले दिएको अभिब्यक्तिसमेत विवादित बनेको थियो । कांग्रेस प्रजातान्त्रिक गठन गर्दा देउवाले पनि चुनाव चिह्न करुवा नै पाएका थिए । ‘कांग्रेस प्रजातान्त्रिकको चुनाव चिह्नको प्लेकार्ड बोकेर हिंड्नुभएकी आरजुले करुवा चिन्दिन भन्न आज कसरी मिल्छरु’ कांग्रेसका एक जिल्ला नेता भन्छन् ।

कांग्रेसले नजितेका ठाउँमा बजेट नदिने उनको अभिव्यक्तिले समेत उनी प्रति आलोचना बढाउने काम गरेको छ । ‘भाउजुको कारण माहोल विगे्रको छ । वैशाख २७ मा सभापति र अरु नेता आएपछि राम्रै होला’ ती नेताले भने ।

२७ वैशाखमा डडेल्धुरामा तय भएको सभामा देउवासँगै नेता रामचन्द्र पौडेल पनि जाने भएका छन् ।साभार:अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0