डडेल्धुरामा सबै पालिकामा गठबन्धनविरुद्ध कांग्रेसबाटै ‘बागी’ सातमध्ये चार पालिका जित्ने असन्तुष्ट समूहको दाबी


डडेल्धुरा / प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको असन्तुष्ट समूहले आसन्न निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको छ।

कांग्रेसको निवर्तमान जिल्ला सभापति कर्ण मल्लको समूहले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिने तयारी गरेको हो।

कांग्रेसको असन्तुष्ट समूहले डडेल्धुराका दुई नगरपालिका र ५ गाउँपालिकामा कांग्रेसविरुद्ध ‘बागी’ का रुपमा ‘सेट’ नै तयार गरिरहेको छ।

मल्ल समूहले अमरगढी नगरपालिकामा हरि भट्ट र परशुराम नगरपालिकामा डम्बरसिंह विष्टको नेतृत्वमा ‘बागी’ उम्मेदवारी दिने भएको छ। भट्ट १३ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि र विष्ट पूर्वजिल्ला सदस्य हुन्।

मल्ल समूहले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकामा सुरेन्द्र मालीको नेतृत्वमा विद्रोहको तयारी गरेको छ। उनी पार्टीका निवर्तमान जिल्ला सदस्य तथा भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष हुन्।

नवदुर्गा गाउँपालिकामा निवर्तमान जिल्ला सदस्य गोकुल शाही र भागेश्वर गाउँपालिकामा लोकराज भट्ट र नरबहादुर ठकुराठी मध्ये एकको नेतृत्वमा मल्ल समूहले ‘बागी’ उम्मेदवारीको तयारी गरेको छ।

शाही पार्टीका निवर्तमान जिल्ला सदस्य हुन् भने भट्ट जिल्ला सचिवको हैसियतमा काम गरिसकेका नेता हुन्। यस्तै ठकुराठी कांग्रेसको भागेश्वर गाउँ कार्यसमितिको पूर्व सभापति हुन्।

अजयमेरु गाउँपालिकामा लोकराज भट्ट, रविन्द्र खड्का र कमला विष्टमध्ये कुनै एकको नेतृत्वमा विद्रोह गरिने असन्तुष्ट समूहले बताएको छ।

भट्ट त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पूर्वअध्यक्ष र बिष्ट नेपाल महिला संघकी निवर्तमान जिल्ला अध्यक्ष हुन्।

आलिताल गाउँपालिकामा धनबहादुर देउवा र तेजबहादुर खड्कामध्ये कुनै एकको नेतृत्वमा आफ्नो समूहले ‘बागी’ उम्मेदवारहरू उठाउने मल्ल समूहका एक नेताले जानकारी दिए।

नवदुर्गा गाउँपालिकाको अध्यक्षका लागि तयारी गरिरहेका शाहीले मल्ल समूह आसन्न निर्वाचनमा ७ पालिकाका ५२ वटै वडामा ‘सेट’सहित उम्मेदवारी दिन तयार रहेको बताए।

‘डडेल्धुराका सात पालिका र ५२ वडामा सत्ता गठबन्धनविरुद्ध हामी पालिका प्रमुखदेखि वडा सदस्यसम्म बागी नै उठ्छौँ,’ उनले भने।

देउवाको मतदाता नामावली रहेको पालिका गन्यापधुरामा अध्यक्षका लागि चुनावी प्रचार गरिरहेका मालीले पनि मल्ल समूहले सात पालिका र ५२ वडामा उम्मेदवारी दिने बताए।

‘हाम्रा केही माग छन्। ती सम्बोधन हुने सम्भावना अब देखिँदैन। माग सम्बोधन भएन भने हामी वैकल्पिक बाटो अपनाउन तयार छौँ,’ उनले भने, ‘७ पालिकामा प्रमुख–उपप्रमुख गरी १४ र ५२ वडामा ५–५ सदस्य गरेर २६० उम्मेदवार उठ्छौँ।’

सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका डडेल्धुराका निवर्तमान जिल्ला सभापति मल्लले पनि आफूहरु सात पालिका र ५२ वडामा सत्ता गठबन्धनविरुद्ध उम्मेदवारी दिने तयारीमा रहेको स्वीकार गरे।

‘डडेल्धुरा कांग्रेसको विवाद थाहै होला। हाम्रा माग लत्याइयो, बाइपास गर्ने प्रयास गरियो भने सबै ठाउँमा उम्मेदवार रहन्छन्,’ उनले भने।

मल्लले डडेल्धुराको विवाद समाधानका लागि लिखित रुपमा केन्द्रलाई गरेको आग्रहको सुनुवाइ नभएका कारण विद्रोहको विकल्प नरहेको पनि जिकिर गरे। उनका अनुसार असन्तुष्ट समूहले विवाद समाधानका लागि तीन बुँदे माग गरेर केन्द्रीय कार्यालयमा पत्राचार गरेको छ।

चैत ३० गतेको ‘डेड लाइन’ तोकेर पठाइएको माग पत्रमा क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने, आफ्नो समूहका नेताहरुलाई वडादेखि जिल्लासम्म समावेश गरिनुपर्ने र प्रमुख पदहरुमा टिकट दिने ग्यारेन्टी गर्नुपर्ने माग समेटिएका छन्।

चैत १८ गते बसेको मल्ल समूहले भन्दै आएको जिल्ला कार्यसमिति बैठकले जिल्लामा देखिएको विवाद समाधानका लागि तीन बुँदे माग राखेर केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको थियो।

निवर्तमान सभापति मल्लको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार सभापति, उपसभापतिहरू र महामन्त्रीहरूलाई मागपत्र पठाइएको उक्त समूहले बताएको छ।

‘क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने, ७ औँ अधिवेशनबाट बाहिर राखिएका साथीहरुलाई हरेक तहमा समावेश गर्नुपर्ने र प्रमुख पदमा टिकट दिने ग्यारेन्टीको निर्णय गरिए विगतको विवाद अन्त्य गरेर जाने माग राख्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘सभापति, उपसभापतिहरू र महामन्त्रीहरूलाई सम्बोधन गरेर पत्र पठायौँ। तर, सुनुवाइ भएको छैन।’

मल्लले १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा एकलौटी रुपमा थपिएका क्रियाशील सदस्यतामा अब आफूहरुको कुनै गुनासो नभएको भन्दै जबरजस्ती हटाइएका ४६० जनाको नाम १४ औँ महाधिवेशनकै सूचीमा सूचीकृत हुनपर्ने बताए।

केन्द्रमा पठाइएको माग पत्रमा माग सुनुवाइ नभए ‘अप्रिय निर्णय गर्न बाध्य हुने छौँ’ भन्ने शब्द स्मरण गर्दै उनले माग सम्बोधन हुने सम्भावना नरहेपछि ‘बागी’ उम्मेदवार अघि सार्नुको विकल्प नभएको जिकिर गरे।

मल्लले पार्टीबाट माग सम्बोधन भएर डडेल्धुरामा चुनावी तालमेलको निर्णय यथावत राखिए पनि आफ्नो समूह विद्रोह गर्ने अवस्थाबाट पछि नहट्ने समेत दाबी गरे। उनले सत्ता गठबन्धनले गरेको चुनावी तालमेलविरुद्ध आफूहरु सत्ता बाहिर रहेका दलहरूसँग मिलेर जान पनि तयार रहेको बताए।

‘हामी सत्ता गठबन्धनको पूर्ण खिलाफमा छौँ। डडेल्धुरामा मेलमिलापमा गए पनि खिलाफमै हुन्छौँ। गठबन्धनविरुद्ध हाम्रो उम्मेदवारी रहन्छ,’ मल्लले भने, ‘सत्ता गठबन्धनविरुद्ध जिल्लामा जहाँ पनि जुनसुकै पार्टीसँग समीकरण गर्न हामी तयार छौँ।’

मल्ल समूहले डडेल्धुराका सात पालिकामध्ये चार पालिकामा जित्ने दाबीसमेत गरिरहेको छ। अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपालिकामा जित्ने उक्त समूहका नेताहरुको दाबी छ।

‘अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपालिकामा हामी जित्ने निश्चित छ,’ मल्ल समूहबाट एक पालिका प्रमुखको तयारीमा रहेका नेताले भने, ‘बाँकी ३ पालिकाहरुमा हामी निर्णायक हौँ। जसलाई सघाउँछौँ उसले जित्छ।’

सत्ता गठबन्धनमा रहेको एक दलको जिल्ला कार्यसमितिमा पदाधिकारी रहेका एक नेताले प्रधानमन्त्री देउवाको पालिका गन्यापधुरामा मल्ल समूहले विद्रोह गरे गठबन्धनलाई निर्वाचन जित्न कठिन हुने प्रतिक्रिया दिए।

‘मल्लजीको समूह आफ्नै ढंगले अघि बढेको छ। उहाँहरुले विद्रोह गर्नुभयो भने प्रधानमन्त्रीजीकै गन्यापधुरामा हामीलाई गाह्रो हुने देखिन्छ,’ ती पदाधिकारीले भने, ‘अन्य पालिकाहरुमा जित्नुहुन्छ त भन्न सकिन्न। तर, त्यो समूहलाई कमजोर मान्न सकिन्न।’

तर, मल्ल समूहले जित्ने दाबी गरेको मध्येको एक पालिका भागेश्वरका पुराना कांग्रेस कार्यकर्ता देवराज पन्त उक्त समूहले कुनै पालिकामा पनि जित्ने आधार नरहेको दाबी गर्छन्।

‘उहाँहरुको दाबी मनोगत हो। कुनै सम्भावना छैन। बार्गेनिङ हुन सक्छ,’ उनले  भने, ‘मेरो पालिका भागेश्वरमा उहाँहरुका मान्छे नै छैनन्। कसरी जित्ने चुनावरु’

पन्तले देउवाको पालिका गन्यापधुरा र भागेश्वरमा भने पकड रहेको स्वीकार गरे।

‘गन्यापधुरा र भागेश्वरमा उहाँहरुको पकड हो। त्यसमध्ये शेरबहादुर दाइले मुख नखोल्दासम्म मात्रै हो, उहाँले मुख खोले गन्यापधुराका कोही पनि त्यो समूहसँग हुन्नन्।’

उनले एकढिक्का भएर निर्वाचनमा गए डडेल्धुरामा चुनावी तालमेल बिना नै सात पालिकामा कांग्रेस विजयी हुनेसमेत दाबी गरे।

समानान्तर गतिविधिमा मल्ल समूह
मल्ल समूह सातौँ जिल्ला अधिवेशनपछि डडेल्धुरामा सातवटै पालिकाहरुमा समानान्तर गतिविधि गर्दै आएको छ। उक्त समूहलाई बाहिर राखेर डडेल्धुरामा सातौँ जिल्ला अधिवेशन गरिएको थियो।

सातौँ जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद सभापतिमा विजयी भएका थिए। उनी सभापतिमा विजयी भए पनि पार्टी कार्यालय भने जान पाएका छैनन्।

बागबजारस्थित पार्टी कार्यालयमा मल्ल समूहको कब्जा छ। उक्त समूहले छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिका नामबाट पार्टी कार्यालयमा समानान्तर गतिविधि गरिरहेको छ।

नवनिर्वाचित कार्यसमिति भने तुफानडाँडामा छुट्टै कार्यालय स्थापना गरेर पार्टीका गतिविधिहरु सञ्चालन गर्दै आएको छ।

व्यक्ति–व्यक्ति भेट्ने तयारी
मल्ल समूहले पार्टीले सुरु गरेको चुनाव लक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको ‘काउन्टर’ मा छुट्टै कार्यक्रम गरेको छ। उसले पार्टीको अभियानमा सहभागी नभएर जिल्लाभर पहिलो चरणमा छुट्टै चुनावी अभियान गरेको छ।

गन्यापधुरामा अध्यक्षको तयारी गरिरहेका नेता मालीले पहिलो चरणमा गाउँ–टोल भेला सम्पन्न गरिएको जानकारी दिए। उनले पहिलो चरणमा आफूहरुले जिल्लाभरी गाउँ–टोल भेला गरेर छलफल तथा परामर्श गरेको बताए।

मालीले केही दिनभित्रै आफूहरु दोस्रो चरणको चुनावी अभियानमा जाने पनि बताए। दोस्रो चरणको अभियानमा व्यक्ति–व्यक्ति भेट्ने कार्यक्रम तय गरिएको उनले बताए।

‘पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ। वैशाख २ गतेबाट दोस्रो चरणको कार्यक्रम सुरु हुन्छ,’ मालीले भने, ‘अब हाम्रो व्यक्ति–व्यक्ति भेट्ने कार्यक्रम छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0