कञ्चनपुरमा गरिखाने खेत बगर बनेपछि…


महेन्द्रनगरः गत महिना आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर गाउँ पूरै डुबानमा प-यो। महाकाली र जोगबुढा नदी उर्लिदा रातारात प्रहरी प्रशासनले स्थानीयको उद्धार गरे।

सिङ्गो गाउँ बाढीका कारण विस्थापित बन्यो। अहिले अवस्था सामान्य बन्दै गए पनि कुतियाकवर गाउँ बगरमा परिणत हुँदा स्थानीयवासी चिन्तित छन्। “भारतसित सीमा जोडिएको कुतियाकवरमा ४२ परिवार छन्।” दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष नरबहादुर सुनारले भने, “ती सबै परिवारको कमाइखाने खेत बालुवाले पुरिएको छ।” बस्तीको खेतीयोग्य जमिन बालुवाले पुरिँदा किसान खेतबारी लगाउन नसक्ने अवस्थामा पुगेका वडाध्यक्ष सुनारको भनाइ छ। उनले बाढीका बेला महाकाली नदीले बगाएर ल्याएका रुख, दाउरा पनि गाउँमा थुपारिएको बताए। “महाकाली र जोगबुढाको दोसाध हुनाले कुतियाकवरमा बढी क्षति भयो।” सुनारले भने, “बाढीका बेला मेरो वडामा मात्रै ९०० परिवार प्रभावित बनेका थिए।” उनले खेतमा थुपरिएको बालुवा हटाउन नगरपालिकाले समन्वय गर्ने बताए।

बाढीपीडितलाई तत्कालको राहतस्वरुप नगरपालिका र दातृ निकायबाट खाद्य सामग्री वितरण गरिएको उनको भनाइ छ। दोधारा चाँदनीकै भौगोलिक रुपले विकट मानिने कुतियाकवरका स्थानीय खेतीपाती र भारतीय सीमावर्ती बजारमा ज्याला मजदूरी गरेर जिविका चलाउँदै आएका छन्। स्थानीयवासीले सरकारले उपलब्ध गराउने भनेको राहत अझै पाउन नसेकोप्रति दुखेसो पोखेका छन्। “राहत आउँदै गथ्र्यो, बरु डोजर पठाएर खेतको बालुवा हटाइ दिए हुन्थ्यो।” स्थानीय टेकबहादुर सुनारले भने, “गरिखाने खेतमा बालुवा भरियो, अब कसरी जीविका चलाउने रु।” उनले बालुवा हटाउन स्थानीय पालिकालाई आग्रह गरे पनि सुनुवाइ नभएको बताए। अन्नबाली बाढीले बगाउँदा स्थानीयलाई छाक टार्न समस्या भएको सुनारको भनाइ छ। त्यसैगरी अर्का स्थानीय सुष्मा सुनारले हरेक वर्ष जोगबुढा नदीले समस्या दिने गरेको दुखेसो पोखे।

“बर्सातमा गाउँका झुपडी सुरक्षित रहँदैनन्।” उनले भने, “गरिब त्यहीमाथि दलितको बस्तीलाई कसैले वास्ता गरेनन्।” दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनारले बाढीका बेला तत्काल खाद्यान्नलगायतका राहत वितरण गरिएको बताए। “विभिन्न सङ्घ÷संस्थाले पीडितलाई त्यो बेला सहयोग गरे।” उनले भने, “पीडितको लगत सङ्कलन गरेर केन्द्रमा पठाएका छौँ, सरकारले सहयोग गर्ने आश्वासन दिएको छ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0