सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवा सहितको पशु अस्पताल संचालन


महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरूको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा ल्याइएको अस्पतालमा पशुको उपचारसँगै शल्यक्रिया गर्ने सुविधासमेत उपलब्ध रहेको केन्द्रका पशु विकास अधिकृत शंकरदत्त जोशीले बताए । ‘पशुको कुनै कारणले मृत्यु भएमा पोष्टमार्टम गर्नुपर्ने भएमा त्यसको व्यवस्थासमेत अस्पतालबाटै उपलब्ध हुन्छ’ उनले भने, ‘त्यसका लागि अलग्गै कक्षको व्यवस्था गरिएको छ ।’

अस्पताल सञ्चालनका लागि मन्त्रालयको ३४ लाख ११ हजार ७७६ रुपैयाँ लागतमा नयाँ भवनसमेत निर्माण गरिएको छ । नयाँ भवनमा अस्पताल सञ्चालनका लागि छ वटा कोठा छन् । अस्पतालमा अत्यावश्यक सुविधासहितको शल्यक्रिया गर्ने कक्षसँगै अल्ट्रासाउण्ड मेसिन, एक्सरे मेसिन, कम्प्युटर, ल्याबलगायत रहेका छन् ।

अस्पतालमा दक्ष जनशक्तिसहित उच्चस्तरीय उपचार उपलब्ध हुने उनको भनाइ छ । अस्पतालमा एक दरबन्दीका र एकजना करारका गरी दुई जना पशु चिकित्सक कार्यरत छन् ।

अल्ट्रासाउण्ड, एक्सरे मेसिन सञ्चालन गर्नका लागि केही दिनभित्रै प्राविधिकको व्यवस्था गरी अस्पताललाई पूर्णक्षमताका साथ सञ्चालन गरिने बताइएको छ । अस्पताल सञ्चालन आएको दुई दिनमै एउटा कुकुरको बन्ध्याकरण र मलद्वार नभएको पाठीको शल्यक्रिया गरिएको छ ।

‘गाई, भैँसीबाहेक अन्य साना सबै घरपालुवा जनावरको अस्पतालमा सहजरूपमा उपचार हुन्छ’ केन्द्रका कार्यालय प्रमुख पानसिंह ठगुन्नाले भने, ‘पहिला शल्यक्रियासहितको उपचारको व्यवस्था नहुँदा पशुपालक किसानले निकै सास्ती खेप्नु पर्दथ्यो । अस्पताल सञ्चालनमा आएपछि पशुसम्बन्धी सबै रोगको निदान अस्पतालबाटै हुन्छ ।’

औषधि, परामर्श र शल्यक्रियासहितको सेवा अस्पतालबाट पाइने उनले बताए । अस्पतालबाट पशुपालक किसानलाई सहज रूपमा सेवा दिनका लागि अस्पताललाई व्यवस्थित पारिएको उनको भनाइ छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले महेन्द्रनगरमा शल्यक्रियासहितको पशु अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिँदै केही दिनभित्रै कैलालीको धनगढीमा समेत पशु अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । क्रमशः प्रदेशका नौ वटै जिल्लामा सुविधासहितको पशु अस्पताल स्थापना गर्दै लैजाने लक्ष्य मन्त्रालयले लिएको उनले बताए ।

‘शल्यक्रियासहितका पशु अस्पतालमा आवश्यक औषधि, उपकरण, औजार, सुविधा सम्पन्न भवन र दक्ष जनशक्तिको व्यवस्थासमेत गरिन्छ’ उनले भने, ‘व्यावसायिक पशु पंक्षी व्यवसायमा लागेका किसानलाई गुणस्तरीय सेवा उपलव्ध गराउने लक्ष्य रहेको छ ।’

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0