भारतमा मजदूरी गर्नेहरु भन्छन्ः हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो


महेन्द्रनगरः भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी नैनितालमा भारी बोक्दै भेटिएका कालिकोटका ३८ वर्षीय नवीन रावतले नैनीताल क्षेत्रमा मजदुरी गर्न थालेको आठ वर्ष भयो। आर्थिकरूपले घरायसी अवस्था नाजुक भएपछि परिवारको पालनपोषण गर्न भन्दै मजदुरीका लागि नैनिताल पुगेका रावलको कमाइले अहिले कालिकोटमा परिवारको खर्च टरेको बताउँछन्।

गाउँघरमा केही रोजगारी वा आयमूलक काम पाएको भए अर्काको मुलुकमा भारी बोक्ने रहर थिएन, उनले भने, युवालाई रोजगारी दिने विषयमा चर्चा बढी भयो तर प्राथमिकतामा परेन। नैनीताल क्षेत्र र आसपासमा प्रायः नेपाली नै भारी बोक्ने र सडक लगायत पूर्वाधार निर्माणको काममा मजदुरी गरिरहेका प्रशस्तै भेटिन्छन्। हाम्रोजस्तो दुःखको काम यहाँ भारतीयले गर्न आँटसम्म गर्दैनन् रावलले भने, यहाँ युवादेखि वृद्धसम्म मजदुरीमा सक्रिय छन्। उनले मुलुकमा व्यवस्था परिर्वतन भए पनि बेरोजगार युवाको व्यथा बुझ्ने अवस्था नआएको बताए।

युवा शक्ति श्रम गर्न भारतलगायत तेस्रो मुलुकमा छन्, उनले भने,नेताहरूले सपना देखेको समृद्धिको बाटोमा जान युवा शक्तिलाई मुलुकभित्रै राख्नसके मात्रै सम्भव होला। सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकको रोजगारीको गन्तव्य अझै भारत नै हो। सुदूरपश्चिमको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौं नागरिक रोजगारीका लागि भारत जानेक्रम दैनिकजसो चलिरहेको छ। त्यसैगरी नैनीतालमा होटलमा गार्डका रूपमा कार्यरत सुर्खेतका वीरबहादुर बुढाले रोजगारीका लागि बाध्यताले आफू यहाँ आएको बताए। नैनीतालको हावा पानी राम्रो भएकाले यहाँ १० वर्षदेखि कार्यरत छुु, ६१ वर्षीय बुढाले भने, गाउँघरमा त्यसै बस्नुभन्दा यहाँ साहुले नौ हजार तलब दिएको छ।

उनले पनि मुलुकभित्र परिर्वतन आए पनि विपन्न र युवाका लागि परिर्वतनको कुनै आभास नभएको बताए। नैनीतालमा दिनभरि भारी बोकेर साँझको छाक टार्ने मजदुरलाई केको परिर्वतन रु उनले भने, युवाशक्तिलाई मुलुकको हितमा प्रयोग गर्न नसक्दा बाहिरिनुको विकल्प छैन। त्यसैगरी जुम्लाका कविन्द्र शाहीले आफू भारतमा मजदुरी गर्न आउन थालेको २३ वर्ष भएको बताए। नेपाली श्रमिकलाई भारतले प्रयोग गरेर विकासको फड्को मारिसक्यो, शाहीले भने, हाम्रो नेपालमा विकासका नाउँमा गफै बढी भयो। शाहीले भारतबाट कमाएको रकमले छोराछोरीको पढाइ, घरखर्च चलाउनुका साथै घडेरीसम्म खरिद गरेको बताए।

अर्काको देशमा हप्कीदप्की सहेर काम गर्नुपर्छ तर हामीकहाँ काम पाउने ठेगान नै हुँदैनु, उनले भने, नैनीतालमा होटल, भारी बोक्ने, सडकमा ज्यालादारी गर्ने प्रायः नेपाली नै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0