सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै


अत्तरिया असोज ०१ । आज सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाइँदै छ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ ।

भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ । भगवान कृष्णले पुतनामाथि विजय गरेको अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसीयालीमा पर्व मनाइन्छ ।

भदौ संक्रान्तिमा गाउँका मानिस नजिकैको वनबाट विभिन्न बुट्यानहरू झिकणा काटेर एक ठाउँमा थुप्रो बन्ढुनी पार्छन् । त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ। पर्वको केन्द्रविन्दु असोज संक्रान्तिलाई मानिन्छ ।

किम्बदन्ती अनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा पुतना आफैं जलेर मरेकी थिइन् । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको हो ।

त्यसपछि पुतनालाई कृष्ण र उनका साथीले जलाउँदै उत्सव मनाएका थिए । त्यही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो । यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बाल प्रधान पर्व पनि भन्न सकिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल बूढी निकाल थुई बूढी थुई’ भन्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0