सुदूरपश्चिम प्रदेश सरकारले मातहतका कार्यालयका सम्पर्क कार्यालय प्रदेशको अस्थायी राजधानीमा खोलेर रकम दुरुपयोग गर्दै आएको दाबी


अत्तरियाः सुदूरपश्चिम प्रदेश सरकारले मातहतका कार्यालयका सम्पर्क कार्यालय प्रदेशको अस्थायी राजधानीमा खोलेर रकम दुरुपयोग गर्दै आएको छ। भौगोलिक सन्तुलनका लागि भन्दै डोटीमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपन्छी र यातायातका निर्देशनालय खोलिएको छ।

तर, ती कार्यालयका जनसम्पर्क कार्यालय धनगढीमा खोलिएका छन्। जुन प्रदेशको अस्थायी राजधानी हो। ती कार्यालयको घर भाडावाफत मात्र आर्थिक वर्ष २०७७÷७८ मा २४ लाख ६ हजार रुपैयाँ खर्चेको देखिएको छ। स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी हुँदा सम्पर्क कार्यालय धनगढीमा भएपनि अहिले नभएको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीको दाबी छ।

‘चालु आर्थिक वर्षबाट धनगढीमा यसअघि खोलिएको सम्पर्क कार्यालय म निर्देशक भएपछि बन्द गराएको छु। मन्त्रालयगत कामकाजका कारण बढि धनगढीमा देखिने गरेपनि काम डोटीबाटै हुने गरेको छ। धनगढीमा अहिले हाम्रो कुनै कार्यालय छैन्।’

स्वास्थ्य, शिक्षा, कृषि, पशुपन्छी र यातायात निर्देशनालय डोटीमा राखिएको छ। शिक्षा, स्वास्थ्य, कृषि र यातायातको काम डोटीबाटै हुनुपर्ने हो। तर, ती निर्देशनालयहरुका सम्पर्क कार्यालय धनगढीमा समेत स्थापना गरेर प्रदेश सरकारले दोहोर खर्च गरेर बजेटको दुरुपयोग गर्दै आएको छ। प्रदेशको राजधानी धनगढी र मन्त्रालयगत सबै कामकाज धनगढीबाटै हुने भएकाले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सम्पर्क केन्द्र धनगढीमा राखिएको निर्देशक डाक्टर बसन्तबहादुर सिंह बताउँछन्।

‘डोटीमा निर्देशनालय भएपनि मन्त्री, सचिव र अन्य कामकाज धनगढीमै हुने भएकाले सम्पर्क कार्यालय राखिएको हो। यसप्रकारको कार्यालय पहिलेदेखि नै थियो, मैले निर्देशनालयको जिम्मेवारी समालेको धेरै समय भएको छैन। जहाँ राजधानी र मन्त्रालय छन त्यही स्थानमा बढि काम हुने भएकाले सम्पर्क कार्यालय राखिएको हो’, उनले भने। धनगढी र डोटी दुबै स्थानबाट कम भइरहेको उनले बताए।

डोटीमा निर्देशनालय भएका अधिकांश निर्देशकहरुले सम्पर्क कार्यालय तथा सम्पर्क केन्द्र नाम दिएर धनगढीमा कार्यालय खोलेका हुन्। यस्ता कार्यालय खोल्न मन्त्रीपरिषद्को निर्णय हुनुपर्नेमा आफूअनुकुल सम्पर्क कार्यालय स्थापना गरेर राज्यकोषको दोहन गरिदैँ आएको छ। ‘सबैजसो निर्देशनालयले धनगढीमा कार्यालय स्थापना गरेको देखिएको छ। जुन ऐन र व्यवस्थाविपरीतको काम हो,’ एक उच्च अधिकारीले भने।

२०६४ सालदेखि नै धनगढमिा सम्पर्क कार्यालय खोलेर यतैबाट काम हुँदै आएको यातायात पूर्वाधार निर्देशनालय डोटीका प्रमुख जगप्रकाश जोशीले बताए। ‘आफूले जिम्मेवारी सम्हालेको थोरै समयमात्र भएको छ। तर, यसअघि प्रेम भट्ट लगायतले निर्देशकको जिम्मेवारी लिएदेखि नै सम्पर्क कार्यालय धनगढीमा थियो, डोटीमा कुनै पनि निर्देशनालयको कार्यालय राख्न नहुने हो। जहाँ राजधानी छ त्यही राख्दा उपयुक्त देखिन्छ।’

निर्देशनालयका नियमित कामकाज बढि धनगढीबाटै हुने भएकाले डोटीमा शिक्षा, स्वास्थ्य, कृषि लगायत निर्देशनालय नाममा मात्र सिमित देखिएका छन्। फाटफुटबाहेक प्रायः निर्देशनालयका प्रमुखले धनगढीबाटै काम गर्दै आएको हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0