कैलालीकाे गोदावरीका १२ वटै वडाकाे वडाभेला सम्पन्न: यस्ता छन नीति कार्यक्रम तथा याेजनाहरु


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सिलिङ सार्वजनिक गर्दै १२ वटै वडाका वडाभेलाहरू  सम्पन्न गरेको छ। जेठ १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएका वडाभेलामा नगरले अघिल्लो वर्षको समीक्षा र आगामी वर्षका  नति कार्यक्रम तथा याेजना प्रस्तुत गरेको थियो।

नगरपालिकाले प्रत्येक वडाका लागि छुट्याइएको बजेट रकम समेत सार्वजनिक गरेको छ। सबैभन्दा बढी बजेट वडा नं. १ मा १ करोड २० लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी वडा नं. २ मा १ करोड १७ लाख, वडा नं. ३ मा ९५ लाख, वडा नं. ४ मा १ करोड १८ लाख, वडा नं. ५ मा १ करोड १ लाख, वडा नं. ६ मा ९२ लाख, वडा नं. ७ मा ८६ लाख, वडा नं. ८ मा ९४ लाख, वडा नं. ९ मा ९१ लाख, वडा नं. १० मा ९३ लाख, वडा नं. ११ मा ८६ लाख र वडा नं. १२ मा १ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरप्रमुख विरेन्द्र भट्टले भेलामा बोल्दै नगरका सबै वडामा समान अवसर र बजेट वितरण गरिएको बताएका छन्। उनले स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकता दिइएको जानकारी गराउँदै, “निर्वाचन भएदेखि यी दुई क्षेत्रलाई केन्द्रमा राखेर योजना कार्यान्वयन हुँदै आएको छ,” भने।

खेलकुद क्षेत्रको विकासका लागि नमुना खेलमैदान निर्माणको योजना अघि बढाइएको र सबै क्लबलाई नभई प्रभावकारी साझेदारीमा बजेट विनियोजन गरिने पनि उनले स्पष्ट पारे। भूमि आयोगसँग समन्वय गर्दै लालपुर्जा वितरण प्रक्रियालाई सहज बनाउन जमिनको राजस्व दर घटाइएको जनाइएको छ। खेतीयोग्य जमिनमा ५प्रतिसत र आवास प्रयोजनको जमिनमा १०प्रतिसत मात्र राजस्व लिने प्रस्ताव अघि सारिएको छ।

नगरपालिकाको वडा नं. १ मा हाटबजार स्थापना भइसकेको छ र कार्यविधि तयार भइसकेको नगरप्रमुखले जानकारी दिए। अब व्यावसायिक किसानहरूले बजार मूल्यअनुसार आफ्ना उत्पादन बिक्री गर्न सक्नेछन्।

उप–प्रमुख शारदा देवी रोकायाले बजेट सीमित भए पनि जनताको सुझाव र आवश्यकता अनुसार योजना निर्माण गरिने बताइन्। महिलाहरूलाई स्वरोजगार र पशुपालनमा लाग्न आह्वान गर्दै उनले समावेशी विकासका लागि सहकार्य आवश्यक रहेको बताएकी हन्।

वडा नं ३ मा निर्माणाधीन फोहोरमैला व्यवस्थापन केन्द्रलाई प्रदेशकै नमुना परियोजना बनाउने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए। यस परियोजनाले वातावरण संरक्षण, रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।