अत्तरिया : पछिल्लाे समय शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय रहेका एफबी एजुकेशनल इन्स्टिच्युट प्रा.लि. डडेल्धुराका सञ्चालक तथा समाजसेवी मदन बहादुर बोहरा (एमबी) ले डडेल्धुरा बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गरेका छन्।
बोहराले क्याम्पस प्रमुख लालबहादुर बुढालाई नगद १० हजार ५५ रुपैयाँ हस्तान्तरण गर्दै औपचारिक रूपमा कोषको सुरुवात गरेका हुन्।
अक्षय कोषलाई ऐतिहासिक कदमको संज्ञा दिंदै क्याम्पस प्रमुख बुढाले भने, “बोहराजीको यो योगदानले विद्यार्थीहरू मात्र नभई सम्पूर्ण शैक्षिक परिवारलाई प्रेरणा दिनेछ। यसले अन्य सामाजिक अगुवाहरूलाई पनि शिक्षामा योगदान गर्न उत्प्रेरित गर्ने विश्वास लिएको छु।”
२०७८ चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि शिक्षा र सामाजिक सेवाप्रतिको बोहराको निरन्तर प्रतिबद्धता यस अक्षय कोषमार्फत पुनः प्रमाणित भएको क्याम्पस प्रमुख बुढाले बताए। उनका अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उक्त रकम कोषमा राखिने छ।
बाेहराले उक्त अक्षय कोषले भविष्यमा धेरै विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने र डडेल्धुरालाई शैक्षिक हबका रूपमा स्थापित गर्न टेवा पुर्याउने अपेक्षा गरिएको वताए ।