शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभाको गठनमा पहल गर्न आग्रह गरेको छ ।
समितिका अनुसार विश्वविद्यालय सम्बन्धी विधेयक सर्वसम्मत रूपमा संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण र राजपत्रमा प्रकाशन भइसकेको छ। तर ऐन कार्यान्वयनमा आइसके पनि हालसम्म उक्त विश्वविद्यालय सभाको गठन तथा पदाधिकारी नियुक्ति प्रक्रिया अघि नबढेको आरोप समितिले लगाएको छ।
संघर्ष समितिले यसै आर्थिक वर्षभित्रै एमबीबीएस अध्ययनका लागि सिट संख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शैयाको अस्पताल निर्माणका लागि बनेको संरचनामा प्रारम्भिक रूपमा अविलम्ब ३०० शैयाको अस्पताल सञ्चालन गर्ने तयारी अघि बढाउन विशेष पहल गर्न पनि मुख्यमन्त्रीलाई आग्रह गरेको छ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले उक्त विषयमा अावश्यक प्रक्रिया अघि बढाउन केही जटिलता देखिएको भए पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले केही दिनअघि नै पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा स्वास्थ्य मन्त्रीलाई भेटेर छलफल गरिसकेको भन्दै अझै अर्काे हप्ता काठमाडौं गई शिक्षामन्त्री तथा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउने बताएका छन्।