नर्सरी व्यवसायबाट नै गरे ८० लाखबढि आम्दानी


अत्तरिया :  परिश्रम र लगनशील भएर काम गर्ने हो भने राम्रो आम्दानीसहित अरूलाई रोजगारी पनि दिन सकिने उदाहरण सल्यानका नर्सरी व्यवसायीले दिएका छन् । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यताविपरीत सल्यान बागचौर नगरपालिका– ९, डाँगीगाउँका युवाले नर्सरी सञ्चालन गरी व्यावसायिक उत्पादन गर्दै आएका छन् । गोलज्यान्ड कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिक नर्सरी सञ्चालन गर्दै आएका २६ वर्षीय नीरज डाँगीले एक सिजनमा मात्रै ३५ लाखबराबरको कारोबार गरेको बताए । उनले भने, ‘यो सिजनमा मात्रै ३५ लाखबराबरको कारोबार भयो । १० लाखजति खर्च भयो होला, बाँकी २५ लाख चोखो आम्दानी भयो ।’

टिमुर, कागती र सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका डाँगी कृषिलाई सम्मानित र मर्यादित पेसाका रूपमा लिन सके आर्थिक रूपमा सम्पन्न बन्न सकिने बताउँछन् । नेपाल आर्मीको जागिर छाडेर कृषि जेटिए पढी व्यावसायिक नर्सरी खेतीमा लागेर कृषि गर्न सहज भएको डाँगीले बताए । सरदर प्रतिबिरुवा ३० रुपैयाँका दरले ४३ हजार टिमुरका बिरुवा, २० रुपैयाँका दरले पाँच हजार बिजु कागती, ३० रुपैयाँका दरले १३ हजार बिजु सुन्तला, ७५ रुपैयाँका दरले पाँच हजार दुई सय कलमी कागती र ७० रुपैयाँका दरले २० हजार कलमी सुन्तला बिक्री गरेको उनले जानकारी दिए ।

यस्तै, डाँगीगाउँकै २८ वर्षीय प्रदीपकुमार डाँगीले पनि एकै सिजनमा ४५ लाखबराबरको बिरुवा बिक्री गरेका छन् । सबै खर्च कटाएर २२ लाख चोखो आम्दानी भएको प्रदीपको भनाइ छ । उनले भने, ‘गत वर्ष सबै खर्च कटाएर १३ लाख आम्दानी भएको थियो । यस वर्ष लागत बढ्दा झन्डै १८ लाखबराबरको खर्च लाग्यो होला । तैपनि, २२ लाख आम्दानी भयो ।’

यो वर्ष बिरुवाले राम्रो मूल्य पाएको बताउँदै उनले स्थिर मूल्य नहुँदा किसानले समस्या भोग्नुपरेको बताए । ‘गत वर्ष १५ रुपैयाँका दरले पनि बिरुवा बिक्री गर्न गाह्रो भएको थियो,’ उनले भने, ‘तर, यस वर्ष ७० देखि ७५ रुपैयाँ प्रतिबिरुवा बिक्री भयो । बिरुवाको निश्चित मूल्य नहुँदा कहिले घाटा सहनुपर्छ, कहिले नाफा हुन्छ ।’

यस सिजनमा ५५ रुपैयाँका दरले प्रतिबिरुवा पोलिब्याग टिमुर २५ हजार, २० रुपैयाँका दरले बिजु कागती पाँच हजार, पोलिब्याग बिजु कागती तीन हजार, कागती कलमी दुई हजार बिक्री भएको डाँगीको भनाइ छ । साभार : नया पत्रिका