सुदूरपश्चिममा भनिएको बजेट पारित भएको खुसियालीमा प्रदेश सांसदहरू रात्रीभाेजमा व्यस्त


अत्तरिया  : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि प्रदेशसभामा चार दिन छलफल भएकाे थियो । बजेटप्रति प्रतिपक्षी दलभन्दा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेश सांसद बढी आक्रामक देखिएका थिए । व्यापक रुपमा  योजना खरिद बिक्रीको आरोप लाग्यो ।

 

मन्त्रालयबाट योजना हालिदिन्छु भनेर रकम असुली भएको आरोप लगाइयो । बजेटमा मन्त्री र मुख्यमन्त्रीभन्दा बिचौलिया हावी भएको र बजेट फेल गर्नुपर्नेसम्मका अभिव्यक्ति प्रदेशसभामा सांसदले राखेका थिए। प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले सरकार नैतिक रूपमा ढलिसकेको भन्दै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेसमेत भन्न भ्याए । तर, ३३ अर्ब ४७ करोडको बजेट अन्ततः बुधबार सर्वसम्मत पारित भयो । बजेटको विपक्षमा एक जना प्रदेशसभा सदस्यले पनि हात उठाएका थिएनन।

बिचौलिया हाबी भएको बजेट पारित भएको खुसियालीमा प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूलाई भोज खुवाएको छ भने सासदहरु रात्रीकालिन भाेजमा व्यस्त रहेका थिए । बुधबार बजेट पारित भएलगत्तै धनगढीको सौराइ पार्टी प्यालेस पुगेका प्रदेशसभा सदस्यहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा भोज खुवाइएको हो । बजेट पारित भएपछि संसद भवनबाटै सांसदहरू पार्टी प्यालेस पुगेका थिए । भोजमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू तथा उनीहरूका स्वकीय सचिवहरू सहभागी रहेका थिए । ‘खानाको व्यवस्था गरेको खबरपछि खाना खान त्यहाँ पुगेका हौँ,झ एक सांसदले भने, ‘पार्टी प्यालेसमा मुख्यमन्त्री, मन्त्रीहरू र अधिकांश सांसद त्यहाँ पुगेका थिए ।’

स्वतन्त्र सासद डा तारा जाेशी,  कांग्रेसका  सांसद प्रकाश देउवा र प्रतिपक्षीदलका नेता खगराज भट्ट , मानबहादुर रावल तथा एकीकृत समाजवादीका सांसद नरेशकुमार शाहीलगायतका केही सांसद भने भोज खान नगएको बताइएको छ । मुख्यमन्त्री शाहले बेलुकी मुख्यमन्त्रीको सरकारी निवासमा आफ्नो दलका सांसदहरूलाई छुट्टै भोज आयोजना गरेको पनि स्राेतले बताएको छ ।