कैलालीमा गहनाका लागि सुत्केरी भाउजुको देवरबाटै हत्या भएकाे खुलासा
अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथकाे हत्या भएको खुलेको छ । प्रहरीले नाथकाे हत्या गरेको अभियाेगमा उनकै सहाेदर देवर नवीन नाथलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीन नाथलाई पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।
उनकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेकाे बेला सिरानीले मुख च्यापेर हत्या गरेकाे बयान दिएका छन् । उनले भाउजुकाे हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा फेला परेका छन्।
तुलसी नाथ शुक्रबार बिहान घर नजिकैकाे नालामा मृत भेटिएकी थिइन् । उनकाे १६ दिनकाे नवजात शिशु भने सकुशल फेला परेकाे थियो । प्रहरीले बाहिर घाउचाेट नदेखिएका कारण उनकाे मृत्युको कारण पत्ता लगाउन सकेेकाे थिएन । घटनापछि मृतकले कानमा लगाएका गहना फेला नपरेपछि उक्त काेणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य भेटिएको थियाे । अत्तरिया प्रहरीले सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको जनाएकाे छ ।