दुर्गालक्ष्मी नमुना मा वि र विश्व निकेतन माविबीच भयाे शैक्षिक सहकार्य सम्झौता


अत्तरिया :    कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमूना मावि र काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविबीच शैक्षिक सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

सामुदायिक विद्यालयहरूबीच असल अभ्यास आदान–प्रदान गरी विद्यार्थी र शिक्षकहरूमा पारस्परिक सिकाइ र समन्वय अभिवृद्धि गर्न सम्झौता गरिएको दुर्गालक्ष्मी माविका व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले जानकारी दिए।

सम्झौतापत्रमा दुर्गालक्ष्मी नमुना माविबाट अध्यक्ष शाह तथा प्रधानाध्यापक ललन प्रसाद चौबे र विश्व निकेतन माविबाट प्रधानाध्यापक हेरम्बराज कडेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुर्गालक्ष्मी माविले विज्ञान विषयमा प्राविधिक सहयोग गर्दै आवश्यक शैक्षिक तालिम, गोष्ठी, अन्तरक्रिया र संसाधन प्रदान गर्नेछ। साथै, दुबै विद्यालयले विद्यार्थी र शिक्षक साटासाट, विज्ञान प्रदर्शनी, परीक्षा समन्वय, पाठ्यसामग्री तथा छात्रवृत्ति उपलब्ध गराउने, र तीन वर्षे सिकाइ स्थानान्तरण कार्यक्रम सञ्चालन गर्ने छन्।

साथै, शैक्षिक अवलोकन भ्रमण, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक विधिको प्रयोग, अतिरिक्त क्रियाकलाप तथा सामाजिक-सांस्कृतिक संग्रहालयको सहकार्य पनि सम्झौतामा समावेश गरिएको छ।