कैलालीकाे गोदावरीमा ‘कोसेली रेस्टुरेन्ट’ नयाँ व्यवस्थापनका साथ सञ्चालनमा
पछिल्लो समय युवा पुस्ता रोजगारीका लागि विदेश जाने लहर बढिरहेको वर्तमान परिवेशमा, ‘देशमै केही गर्न सकिन्छ’ भन्ने उद्देश्यका साथ यस क्षेत्रका युवा व्यवसायी योगेन्द्रराज भट्टको अगुवाइमा करिब १० लाख रुपैयाँको लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको बताएका छन। रेस्टुरेन्टको डिजाइनदेखि सेवा व्यवस्थापन सम्म सम्पूर्णरूपमा व्यवस्थित र आकर्षक ढंगले सजावट गरिएको छ।
भट्टका अनुसार, रेस्टुरेन्ट सञ्चालनको मुख्य उद्देश्य युवाहरूमाझ स्वरोजगारको सम्भावना देखाउनु र उनीहरूलाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्नु हो। “हामीले विदेश जाने युवालाई स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेका हौं,” भट्टले बताए। “यो रेस्टुरेन्ट सुदूरपश्चिमको समृद्धि र पर्यटन विकासमा सानो भए पनि योगदान हो,” उनले बताए ।
रेस्टुरेन्टले ग्राहकको स्वाद र आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय तथा समय परिवेशका परिकारहरू प्रदान गर्दै आएको छ। सेवामा शुद्धता, सफाइ, तथा रमणीय वातावरणमा आरामदायक अनुभव दिने प्रयास गरिएको छ। रेस्टुरेन्टमा शोभायुक्त घरायसी सहितको विश्रामस्थल, मिटिङ्ग कक्ष, र पारिवारिक जमघटका लागि उपयुक्त स्थानहरूकाे समेत व्यवस्था गरिएको छ।
विशेष गरी गोदावरी क्षेत्र घुम्न आउने, खाजाका लागि मनमोहक स्थान खोज्ने, वा व्यवसायिक भेटघाटका लागि उपयुक्त स्थल खोज्नेहरूको लागि कोसेली रेस्टुरेन्ट उपयुक्त विकल्पको रुपमा देखिएको छ।
स्थानिय र वाह्य पर्यटकहरूलाई लक्षित गर्दै सेवा प्रतिको चाहनालाई आत्मसात गर्दै रेस्टुरेन्टले भविष्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको संचालकले बताएका हुन । कोसेली रेस्टुरेन्टले सुदूरपश्चिमको पर्यटन, उद्यमशीलता र युवाको सिर्जनशीलतालाई नयाँ दिशा दिने अपेक्षा गरिएको पाईन्छ ।








