अत्तरियावाट डीडीसी अन्यत्र नसार्न माग गर्दै संघर्ष समितले गर्याे चक्काजाम
अत्तरिया :कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) लाई अन्यत्र नसार्न माग गर्दै स्थानीय संघर्ष समितिले बिहीबार बिहान चक्काजाम गरेका छन ।
संघर्ष समितिले बिहान ९:३० बजेदेखि १० बजेसम्म भीम दत्त राजमार्ग अन्तर्गत अत्तरिया धनगढी सडक खण्डमा अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। चक्काजामको क्रममा उनीहरूले कारखानामा पनि तालाबन्दी गरेका थिए।
गोदावरीका स्थानीयदेखि जनप्रतिनिधिहरुले अन्यत्र नसार्न दवाव दिइरहेका छन् भने जसरी पनि सार्ने मनसाय डीडीसीको रहेको छ । नसार्न दवाव दिँदै स्थानीयले एकहप्तादेखि निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् ।
प्रदर्शनकारीहरू डीडीसी अत्तरियाबाट अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन्। उनीहरूको भनाइमा डीडीसी अत्तरियामा नै रहनुपर्छ भन्ने माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ।
उनीहरुले जेठ ८ गते कार्यालयमा तालाबन्दी पनि गरेका थिए । उक्त तालाबन्दी अझै खुलेको छैन । उनीहरूले डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनमा अाफुहरु पहल गर्ने र धनगढी सार्न नहुने माग राख्दै आएका छन् । बुधबार पनि स्थानीय र जनप्रतिनिधहरुले उक्त विषयमा छलफल गरेका थिए ।
डीडीसीले उक्त कार्यका लागि धनगढी उपमहानगरपालिकासंग गत पुसमै सम्झौता गरिसकेको बताइएको छ । तत्काल याे विषय सम्वन्धित निकाय वाट सम्वाेधन भएन भने थप सस्त्रखालकाे अान्दाेलन गर्ने संघर्ष समिति अध्यक्ष लाेकराज पाण्डेले वताएका छन ।