अत्तरियामा स्कुटर दुर्घटनामा परी प्रहरी नायब निरीक्षक बाेहराको निधन
अत्तरिया : कैलालीकाे अत्तरियामा भएको स्कुटर दुर्घटनामा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको निधन भएको छ। सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।
सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटनापछि गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारको क्रममा सई वाेहराको निधन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
बोहरा हाल सुदूरपश्चिम प्रदेश सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए। बझाङको मष्टा गाउँपालिका–७ निवासी उनी हाल गोदावरी नगरपालिका–५ गेटामा बस्दै आएका थिए।