डडेल्धुरा स्ववियु चुनावमा पैशाकाे चलखेल : बाहिरियाे एक हजारमा विद्यार्थी किन्ने अडियाे
अत्तरिया : डडेल्धुरा बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावले विद्यार्थी राजनीति मात्र नभई स्थानीय दलहरूबीचको शक्ति सन्तुलनको परीक्षा लिने देखिनपुगेकाे छ ।
याे पटकको चुनाव त्रिपक्षीय प्रतिस्पर्धामा सीमित देखिए पनि यो केवल विद्यार्थी संगठनहरूको लडाइँ होइन, बरु ठूला राजनीतिक दलहरूको प्रतिष्ठा जोगाउने प्रयत्नका रूपमा समेत हेरिएको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र बीपी कांग्रेसले आफ्नो प्रभाव देखाउन उम्मेदवारहरूको समर्थनमा पूरा शक्ति लगाएका छन् ।
स्ववियु अध्यक्ष पदका लागि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट गौरव ऐर, संयुक्त प्यानलबाट नेपाली कांग्रेस (विपि) निकट मदन बोहरा, र स्वतन्त्र समूहबाट कर्ण धामी चुनावी प्रतिस्पर्धामा छन् । संयुक्त प्यानलका उम्मेदवार बोहरालाई एमाले र माओवादी केन्द्रको समर्थन रहेको छ, जसले सत्तारुढ गठबन्धनकै आन्तरिक मतभेद उजागर गरेको छ ।
चुनाव विद्यार्थी मुद्दाभन्दा बाहिर गइरहेको देखिन्छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा यो चुनाव केवल विद्यार्थी नेताहरूको भविष्य निर्माण गर्ने खेल मात्र नभई, दलका शीर्ष नेताहरूको दबदबा प्रमाणित गर्ने संघर्ष पनि बनेको छ ।
स्थानीय नेताहरूले यो चुनावलाई आफ्नो प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा लिएका छन् । कांग्रेसले नेविसंघका उम्मेदवारको पक्षमा पूर्ण शक्ति प्रयोग गरिरहेको छ भने कांग्रेस (विपि), एमाले र माओवादी केन्द्रबीचको तालमेलले दलहरूको परम्परागत ध्रुवीकरणलाई तोड्ने संकेत देखिएको छ । यसका लागि कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लसहित अन्य दलका नेता पनि आफै मैदानमा उत्रि मत बटुल्ने प्रयास गरिरहेका छन् ।
बाहिरियो एक हजारमा भोट किन्ने योजनाको अडियो
त्रिविकाे स्ववियु चुनावलाई लिएर राजनीतिक सरगर्मी चुलिँदै गर्दा आर्थिक प्रलोभन सम्बन्धी बहस पनि उत्कर्षमा पुगेको छ ।
अहिले सामाजिक सञ्जालमा भाइरल भएको अडियो क्लिपले स्ववियु चुनावमा पैसाको चलखेल भइरहेको दाबी गरेपछि विद्यार्थी राजनीति निष्पक्ष रहने कि राजनीतिक दलहरूको प्रभावमा रहने भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ ।
भाइरल अडियोका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष पदका उम्मेदवार गौरव ऐरलाई जिताउन कांग्रेसका जिल्ला स्थित स्थानीय नेताहरूले बैतडीका डडेल्धुरा क्याम्पसमा अध्ययनरत ५० जना विद्यार्थीलाई प्रति व्यक्ति १,००० रुपैयाँ दिने योजना बनाएको खुलासा भएको छ । अडियोमा एक नेताले खुलेरै भनेका छन्, “स्वतन्त्रका भोट जसले खिच्यो, उसले जित्छ । विद्यार्थीलाई रुप्याँ चाहिन्छ ।”
यति मात्र होइन, कांग्रेस नेताहरूले स्वतन्त्र उम्मेदवार कर्ण धामीको प्रभाव कम गर्न सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई डडेल्धुरा ल्याउने योजना बनाएको समेत अडियोमा सुन्न सकिन्छ । उच्च तहका नेताहरूलाई दबाब दिन मिठाइको डिब्बासहित भेटघाटको योजना बनाएको कुरा समेत अडियोमा उल्लेख छ ।
यस घटनाले विद्यार्थी राजनीतिमा पैसाको प्रभावबारे गम्भीर प्रश्न उठाएको छ । स्वतन्त्र उम्मेदवार धामीका समर्थकहरूले यसलाई लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप भनेका छन् भने एमाले र माओवादी केन्द्र समर्थित उम्मेदवार मदन बोहराका कार्यकर्ताहरूले चुनाव अस्वस्थ प्रतिस्पर्धातर्फ मोडिएको बताएका छन् ।
अडियोबारे के भन्छन् तीन प्रतिस्पर्धी ?
भर्खरै बाहिरिएको एक हजारमा विद्यार्थी किन्ने भनेर भनिएको अडियोमा कुनै सत्यता नभएको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट उम्मेदवार बनेका गौरव ऐरले मिडियालाई बताएका छन । उनले चुनाव बिथोल्न प्रतिस्पर्धीहरुले अनेक हतकन्डा अपनाइरहेको आरोप लगाएका छन् । ‘त्यो अडियोमा मेरो मेरो कुनै संलग्नता छैन’ उनले भने ।
यस्तै नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले पनि विभिन्न खालका भ्रम सृजना गरी स्वतन्त्रपूर्वक अभिमत प्रकट गर्ने स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भइरहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । ‘यस्ता भ्रामक दुष्प्रचारको पछि नलागि स्वतन्त्रता, समानता, लोकतन्त्रका पक्षमा कटिवद्ध भई आफ्नो विवेक प्रयोग गरी स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई सभ्य, भव्य रुपमा सफल पार्न आम विद्यार्थी साथीहरुमा हार्दिक आह्वान गर्दछौं’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै निवर्तमान स्ववियु सभापति दुर्गादत्त भट्टले याे विषय स्यालहुईया मात्रै भएकाे बताए ।
तर, स्वतन्त्र समूहबाट उम्मेदवार बनेका कर्ण धामीले भने, उक्त अडियोमा आपत्ति जनाएका छन् । ‘हामीले विद्यार्थीको हकहितका लागि उम्मेदवारी दिँदै गर्दा अहिले बाहिरिएको अडियोमा आपत्ति छ । त्यस्तो हुुनुहुँदैन । अब फेरि यस्ता षडयन्त्र दोहोरिएमा हामी आवश्यक कदमसहित अगाडि बढ्ने छौं’ उनले भने ।
यस्तै संयुक्त प्यानलबाट उम्मेदवार बनेका मदन बोहराले पनि नेविसंघले ५० मत किनेर आफूलाई हराउन सकिन्छ भनेर योजना बनाइरहेको अडियोबाट प्रमाणित भएको बताएका छन् । ‘बैतडीका ५० मत किनेर मलाई हराउन सकिन्छ भनेर उहाँहरु योजना बुनिरहनु भएको छ । तर, जाबो एक हजारमा विद्यार्थीहरु बेचिँदैनन् । नेविसंघले गरेको यो चलखेलको परिणाम चुनावपछि थाहा हुनेछ’ बाेहराले मिडियालाई भने ।
अडियो सुनेको छैन : निर्वाचन अधिकृत
डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न गराउन तोकिएका अधिकृत नरेन्द्र प्रसाद भट्टले भने सार्वजनिक भएको अडियोबारे अनविज्ञता प्रकट गरेका छन् । ‘मैले अडियो आएको भन्ने सुनेको छु । तर, अडियो सुनेको छैन’ उनले मिडियालाई भने ।
यस प्रकरणले स्ववियु चुनावको साखलाई कत्तिको असर गर्छ ? विद्यार्थी राजनीतिमा आर्थिक चलखेल कति प्रभावकारी रहन्छ ? चैत ५ पछि मात्रै यसको वास्तविक प्रभाव देखिनेछ । त्यसैगरि डडेल्धुरामा कांग्रेसको वर्चस्व यथावत रहन्छ कि नयाँ समीकरणले राजनीतिक परिदृश्यलाई पुनः परिभाषित गर्नेछ भनेर हेर्नलाई ५ गते ( भोलि) काे निर्वाचनकाे नतिजा पर्खिनुपर्ने छ ।