अत्तरिया अर्जुन ट्रफीको फाइनलमा प्रवेश, डडेल्धुरासँग उपाधिका लागी भिड्ने
अत्तरिया : सिबाईसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डिसिए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरिया उपाधि भिडन्तका लागि तयार भएको हो।
धनगढीले दिएको १०९ रनको लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अत्तरियाका लागि शंकर रानाले नटआउट रहँदै ५५ बलमा ५६ रनको अर्धशतकीय पारी खेले। यस्तै, दिनेश कँडेलले २४, भीम सार्कीले १६, र विवेक यादवले १२ रनको योगदान दिएका थिए ।
धनगढीका बलरहरूमा हिम्मत महराले २ विकेट, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो। धनगढीका लागि मिलन बोहराले सर्वाधिक २८ रन, अभिषेक पालले २७ रन, र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए। अत्तरियाका बलरहरूमा कमल गुप्ता र विवेक यादवले समान २-२ विकेट, भने रसिद खान, दिनेश कँडेल, र साहब आलमले समान १-१ विकेट लिए। धनगढीका ३ खेलाडी रन आउट भएका थिए।
अब, फाइनल खेलमा अत्तरियाले डडेल्धुरासँग प्रतिस्पर्धा गर्नेछ। अर्जुन ट्रफी प्रतियोगितामा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ। विजेताले नगद १० लाख सहित ट्रफी पाउनेछ भने उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, र उदयमान खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको थियो।







