कांग्रेस कैलाली क्षेत्र नं. ४ को दाेस्राे क्षेत्रिय सम्मेलन सम्पन्न


अत्तरिया: नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ को दोस्रो क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पुर्व भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

क्षेत्रिय सभापति बसन्त रोकायाको सभापतित्वमा सम्पन्न सम्मेलनमा नेपाली कांग्रेसका कैलाली सभापति तथा राष्टियसभा सदस्य नारायणदत्त भट्ट, प्रदेशका अर्थराज्य मन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, गोदावरी नगरपालिका प्रमुख विरेन्द्र भट्ट लगायत पार्टीप्रति आस्थावान विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेताकार्यकर्ताहरूले पार्टी संगठनलाई थप सशक्त बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउवाले पार्टीको कार्यक्रममा पार्टी संगठन भन्दा पनि विकास निर्माणका कार्यमा पार्टीका नेताले बढी चासो दिएको देखेर खुसी लागेको बताए । उनले पार्टीलाई बलियो बनाउन जनताका भावनाहरु बुझेर सो अनुरुप काम गर्न जरुरी रहेको बताए ।

‘हिजो प्राप्त भएको उपलब्धीलाई संस्थागत गरी देशलाई अगाडी बढाउन जनताको भावना अनुरुपका मुद्धा अगाडी बढाउने कुरा अहिलेका जनप्रतिनिधिहरुले बुझ्नुपर्छ’ उनले भने ‘पार्टीलाई बलियो बनाएर अगाडी लैजान जनताका भावना बुझेर काम गर्नुपर्छ । जनताका चाहना र भावनालाई बुझेर सो अनुरुप कार्य गरे विशुद्ध विकास सम्बन्धी काम गरे, विकास निर्माणलाई जनतासम्म पु-याउन सके पार्टी बलियो हुन्छ र हाम्रो संगठन बलियो हुन्छ ।’

उनले विगतदेखी नै कांग्रेसको बलियो क्षेत्रका रुपमा रहेको कैलाली क्षेत्र नं. ४ मा कांग्रेसलाई कमजोर बनाउन नहुने समेत जिकिर गरे । कार्यक्रममा सहभागी नेताहरूले संगठनलाई मजबुत बनाउन पार्टीभित्रको एकता, अनुशासन र निष्ठाको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन कांग्रेस कैलाली क्षेत्र नं. ४ का सचिव विष्णु प्रसाद भाटले गरेका थिए ।