तीन वर्षमा सुदूरपश्चिमभर सवारी दुर्घटनामा ५६० जनाको मृत्यु, ११ सय ३९ गम्भीर घाइते


अत्तरिया : सुदूरपश्चिममा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ५ सय ६० जनाको मृत्यु भएको छ। पटक पटक दुर्घटनामा परेर एक हजार एक सय ३९ जना गम्भीर घाइते भएका छन्।

                              फायल : तस्विर

आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०७९/०८० सम्म मात्र एक हजार ८३ जना सवारी दुर्घटनमा परेर सामान्य घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ। सो अवधिसम्म एक हजार तीन सय १५ वटा सवारी दुर्घटना भएका छन्।

२०७७ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा एक सय ८७ जनाको मृत्यु भएको छ भने पाँच सय ८७ जना गम्भीर घाइते भएका छन्। पाँच सय ४ जना सामान्य घाइते भएका छन्। २०७८ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाले ज्यान गुमाएका छन्। ती सवारी दुर्घटनाबाट तीन सय ५५ गम्भीर र ६ सय ६ जना सामान्य घाइते भएको अभिलेख  रहेकाे छ।

त्यस्तै २०७९ मा २ सय ५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा एक सय ७७ जनाको मृत्यु भएको छ।उक्त  अवधिभर एक सय ९७ जना गम्भीर र २ सय ७३ जना सामान्य घाइते भएका थिए। तीन वर्षको अवधिमा ८८ वटा बस, ७८ ट्रक, ३० टिपर, एक सय ७५ ट्याक्टर, २ सय २८ कार र सबैभन्दा बढी मोटरसाइकल ९ सय ५२ तथा अन्य २ सय ७६ गरेर कुल एक हजार ७ सय ७७ सवारीसाधन दुर्घटनामा परेका छन्।

मादक पदार्थ सेवन गरेर ३०, चालकको लापरबाहीले एक हजार ९४, यान्त्रिक खराबी ९४, कमजोर सडक पूर्वाधारका कारण ५४ र अन्य कारण ८२ गरेर १३ सय १५ सवारी दुर्घटना भएका छन्। सो अवधिमा विहानको समयमा तीन सय १८, दिउँसो ४ सय ७८ र रातिको समयमा ५ सय १९ सवारी दुर्घटना भएको देखिएको छ। २५ वर्षमुनिका पाँच सय ५२ चालक, २५ देखि ४० वर्षसम्म पाँच सय ५१ र ४० देखि माथिका २ सय ४२ चालकले चलाएका सवारी दुर्घटनामा परेको  डाटा पाइएको छ।

                          फायल : तस्विर