इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका एमालेका मेयर नेपाली रेड कर्नर नोटिस पछि दिल्लीमा पक्राउ


काठमाडौं : सहकारी ठगीमा मुछिएपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् । उनी अहिले भारतीय सुरक्षा अधिकारीले नियन्त्रणमा छन् । उनललाई नेपाल ल्याउने तयारी भइरहेको  वताईएकाे छ । उनलाई दिल्लीमा फेला पारिएको भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको छ ।

नेपाली दूतावाससँग समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ । सहकारीको अर्बौ रुपैयाँ अपचलन गरेर भागेपछि मेयर नेपालीविरुद्ध गत माघ १२ गते रेड कर्नर नोटिस जारी भएको थियो । मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए ।  मेयर नेपाली इमेज वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । सहकारी सञ्चालकले १५ सय वचतकर्ताको २ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा छन् । यस्तै पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई प्रकाउ गरी कारबाहीको माग गर्दै आएका छन् ।

फरार भएका मेयर नेपालीले गत मंसिरमा फेसबुक भिडियोमार्फत सन्देश र विज्ञप्ति जारी गरेर आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको बताएका थिए।

सामाजिक संजाल फेसबुकमार्फत फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब रुपैयाँ भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली नेकपा एमालेबाट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।