मोटरसाइकलमा माछा ढुवानी गर्नदिन माछा व्यवसायीको अनुरोध
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा शुक्रबार(आज) ज्ञापन पत्र बुझाँउदै उनीहरूले मोटरसाइकलमा माछा ओसारपसार गर्न दिन अनुरोध गरेका छन् ।
माछा व्यवसायी निर्प कुँवरले मोटरसाइकलमा एउटा टोकरी बाँधेर माछा ढुवानी गर्दा ट्राफिक प्रहरीले जरिवाना काटेर हैरान बनाउने गरेको बताए । माछा बेचेर दिनभरी कमाई हुने सानो रकम पनि ट्राफिकको जरिवानामा जाने उनको गुनासो छ ।
दिनभरी माछा बेचेर आम्दानी भएको रकम पनि जरिवानामा जाँदा परिवार पाल्न समेत गाह्रो भएको अर्का माछा व्यवसायी कृष्ण गिरीले बताए ।
माछा व्यवसायी संघ कैलालीका अध्यक्ष राम प्रसाद चौधरीले माछा व्यवसायीको दिनभरिको मिहिनेत जरिवानामै जाने गरेकोले यस्तो नगरिदिन ट्राफिक प्रहरीलाई अनुरोध गरे ।
ट्राफिकले लिने गरेको जरिवानाका कारण व्यवसाय नै धरापमा पर्ने उनको भनाइ छ । “दुर्घटना नै निम्तिने गरी हामीहरु ल्याउँदैनौ,उनले भने एक क्रेटमा १५/२० किलो जति हुन्छ।मोटरसाइकलमा यसरी बोक्न पाइदैन भनेर उहाँहरुले जरिवाना काट्नु हुनछ ।”उनले भने । ज्ञापन पत्र बुझ्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरज बहादुर खड्काले कार्यालय प्रमुख समक्ष समस्या राख्ने बताए ।
गैरकानुनी रुपमा सामान बोक्दा दुर्घटना भएको खण्डमा ट्राफिकमाथि पनि प्रस्न उठ्ने हुँदा कानुनी रुपमा मोटरसाइकलमा वा दुई पाङ्ग्रे सवारीमा यसरी क्रेट बाँध्न नमिल्ने भएपनि व्यवहारीकता हेर्न ट्राफिकलाई अनुरोध गरिने उनले बताए । दशैतिहार नजिकियसंगै माछा व्यवसायीहरु याे समस्याले गर्दा चिन्तित भएका छन ।