धनगढीकाे नोभा हस्पिटल र मृतकका परिवार बिच भयाे साढे १३ लाख दिने सहमति


धनगढी  :  क्षतिपूर्तिबापत रकम दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएको अस्पताल स्रोतले बताएकाे छ ।

उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए । चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिति बिग्रिदै गएपछि शुक्रबार अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान आग्रह गरेको थियो ।

 

आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेकाे छ ।