गोदावरीको न्यायिक समितिमा सरिआएका र नयाँ गरी जम्मा ६१ मुद्दा दर्ता,५५ मुद्दा फर्छ्यौट
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाको न्यायिक समितिमा ४३ ओटा नयाँ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा ४३ ओटा नयाँ मुद्दा दर्ता भएका छन ।
न्यायिक समितिका अनुसार चालु वर्षमा गत आर्थिक वर्षका १८ विवाद सरिआएका छन् । सरिआएका र नयाँ गरी जम्मा ६१ मुद्दा दर्ता भएकामा समितिले ५५ मुद्दा फर्छ्यौट भइसकेका जनाएको छ । बाँकी ६ ओटा मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेका बताइएको छ । फर्छ्यौट भएका ५५ मुद्दामध्ये ३७ मुद्दा न्यायिक समितिमा मेलमिलाप भएका र १८ मुद्दा मेलमिलाप केन्द्रमा मेलमिलाप भएका बताइएको छ ।
समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी जग्गा विवादका मुद्दा छन् । जग्गा विवादका मात्रै १९ मुद्दा परेका छन । तीमध्ये १८ ओटा फर्छ्यौट भइसकेका छन् भने एक मुद्दा फर्छ्यौटको प्रक्रियामा छ । गालीगलौजका ९ मुद्दा परेकामा ७ ओटा फर्छ्यौट भइसकेका छन् । लेनदेनका ८ मुद्दा परेकामा ८ ओटै मुद्दा फर्छ्यौट भएका छन् । बाटो विवादका ४ मध्ये ३ ओटा र श्रीमान श्रीमतीबिच विवादका ५ मध्ये ४ मुद्दा फर्छ्यौट भएका छन् ।
त्यसैगरी अंश मुद्दाका २, जेष्ठ नागरिक पालनपोषण नगरेको २, घरबहालका ३, खानलाउन तथा शिक्षादीक्षा नदिएको भन्दै २ मुद्दा परेकामा सबै फर्छ्यौट भएका छन् । त्यस्तै घरजग्गा खाली गराइ पाउँ भन्दै एक मुद्दा दर्ता भएको छ । सो मुद्दा प्रक्रियामा रहेको बताइएको छ । बाली नोक्सानी, आफ्नो घरको छतको पानी अरुको जग्गामा झारेको, ज्यालामजदुरी नदिएको, फोहोरमैला फालेर असर गरेको, बंगुर पालनबाट वातावरण प्रदुषण भई छिमेकीलाई असर गरेको र छिमेकीले घर बनाउँदा आफ्नो घरमा क्षति पारेको भन्दै क्रमशः १/१ मुद्दा दर्ता भएकामा सबै फर्छ्यौट भइसकेका छन् ।
सोमबार नगरपालिकाको सभा हलमा नगरस्तरीय सरोकारवालाहरुसँग न्याय सम्पादन त्रैमासिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नगरपालिकाको न्यायिक समितिद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा न्यायिक समितिले हेर्न पाउने मुद्दाहरु लगायतका विषयमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा सो विषयमा अधिवक्ता गणेश कडायतले प्रशिक्षण गरेका थिए ।