कैलालीको गेटा अस्पतालमा उपकरण अभाव, ६ महिनाभित्र जडान भइसक्ने दाबी


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ गेटामा गत वर्षको कात्तिक १ गतेबाट अस्पताल सञ्चालनमा छ। सञ्चालनको सात महिना वितिसक्दा पनि अस्पतालले बिरामी भर्ना भने गर्न सकेको छैन।

अस्पतालमा जनशक्तिसँगै उपकरणको अभाव छ। विभागले पठाएको ६ वटा शय्याबाट अस्पतालमा सामान्य बहिरङ्ग (ओपीडि), हाडजोर्नी तथा नसारोग ओपीडि, स्त्री रोग सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छन्। गेटा अस्पतालका निर्देशक विप्लव सापकोटाले विभागबाट आएको एक्सरे, सामान्य ल्याब, अल्ट्रासान्ड र ६ वटा शय्या मात्र रहेको बताए।

गेटा अस्पतालमा आकस्मिक सेवा, बिरामी भर्ना, सघन उपचार कक्ष (आइसियू), भन्टिलेटर, बहिरङ्ग सेवा, प्रयोगशाला तथा शल्यक्रिया कक्षका लागि उपकरणको अभाव छ। अस्पतालले गत चैत दोस्रो साता अस्पतालमा आवश्यक उपकरणहरु खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। ६ महिनाभित्र एक सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा जडान हुने दाबी गरिएको छ। विदेशबाट आयत गर्नुपर्ने उपकरण तथा सामाग्रीमा अझै समय लाग्ने देखिएको छ। सापकोटाले भने, ‘यतैबाट ठेक्का गर्दैछौ। ल्याबको सेटप, इमरजेन्सि सेटप, ओपीडि सेटप, आइसियू सेटप र ओटी सेटमहरु छन्।’

गेटा अस्पतालमा अक्सिजन प्लान्ट, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष (आइसियू), बच्चाका लागि एनआइसियू लगायतका कक्ष सञ्चालनका लागि उपकरण खरिदको प्रक्रिया थालिएको हो। नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार २५ भन्दा बढी बोलपत्रका सूचना सार्वजनिक गरिएका छन्। असोजसम्म सबै ठेक्काका उपकरण जडानको काम पूरा हुने लक्ष्य अस्पतालको छ।

उपकरण खरिदमा कति खर्च लाग्ने भन्ने विषयमा अध्ययनकै क्रममा रहेको गेटा अस्पतालका निर्देशक विप्लव सापकोटाले बताए। गेटामा ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सकिने क्षमताका भौतिक संरचनाहरु निर्माण गरिएको छ। सङ्घीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ठुलो क्षेत्रफलमा भौतिक संरचनाहरु तयार गरेको भएपनि स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पतालसमेत पूर्ण रुपमा सञ्चालन गर्न सकेको छैन। साभार दिनेश खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0