कैलालीमा प्रहरीमाथि नै जासुसी गरेको आरोपमा चौधरी र पार्की दुई जना पक्राउ


अत्तरिया: कैलालीमा प्रहरीमाथि नै जासुसी गरेको आरोपमा दुई जना लाई प्रहरीले पक्राउ गरेको छ । तस्कर समूहहरूको तर्फबाट प्रहरीमाथि नै निगरानी गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

पक्राउ पर्नेमा धनगढी ७ मनेहराका बुद्दीराम चौधरी र धनगढी ९ तारातालका पदम पार्की रहेका छन् । शनिबार चौधरी पक्राउ परेसँगै कैलालीका विभिन्न सीमानाकामा तस्करी गर्नेहरूले प्रहरीमाथि नै निगरानी राख्ने गरेको खुलासा भएको छ ।

चौधरीलाई से ४ प ५८६१ नम्बरको स्कुटीसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै आइतबार बिहान पार्कीलाई पनि पक्राउ गरिएको हो ।

उनीहरू दुवैजनाले प्रहरी टोलीको गोप्य रूपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा निगरानी राख्ने र तस्करहरूलाई यस बारेमा जानकारी दिने गरेको खुलेको कैलाली प्रहरी प्रवक्ता कविन्द्रबहादुर बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।

तस्कर समूहले धनगढीमा प्रहरीविरुद्ध जासुसी गर्ने व्यक्तिहरूको समूह नै बनाएर लामो समयदेखि परिचालन गरेको खुलेको छ । उनीहरूले विगत लामो समयदेखि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिने प्रहरी टोलीको गोप्य रूपमा निगरानी गरी प्रहरी टोली रहेको स्थान र गतिविधिको बारेमा अवैध रूपमा भन्सार चोरी, पैठारी तथा निकासी गर्ने नेपाली तथा भारतीय मूलका विभिन्न मानिसहरुको समूहलाई सूचना दिने गरेको खुलेको हो ।

पार्की र चौधरीले तस्कर समूहबाट प्रति सूचनाको ५ सय रुपैँया लिने गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवैलाई राष्ट्र सेवकलाई कामकाजमा बाधा अवरोध गरेको कसुरमा पक्राउ गरी अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0