सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको जेठ ३ मा विश्वासको मत लिने तयारी


अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी यही आउदो जेठ ३ गते विश्वासको मत लिने तयारीमा रहेका छन् । वैशाख ६ गते नियुक्त भएका मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । मुख्यमन्त्री सोडारीले सोहीअनुसार तयारी गरिरहेका हुन् ।

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन संसद्को बैठक पनि आह्वान गराएका थिए । तर नेकपा एमाले तत्काल विश्वासको मत दिन नसकिने भन्दै अडानमा बसेपछि बैठक स्थगित गरिएको थियो । भोलिपल्ट २२ गते पुनः बैठक आह्वान गरियो र पुनः सल्लाह नगरी बैठक राखेको भन्दै एमाले रोकिदिएपछि संसद् बैठक नै अनिश्चित बन्न पुगेको थियो ।

मुख्यमन्त्री सोडारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको संवादपछि विश्वासको मत लिने तयारीमा लागेका बताइएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको उपनेता प्रकाश रावलले शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिचको छलफलपछि प्रधानमन्त्रीले जेठ ३ गते विश्वासको मत लिनका लागी तयारी गर्न निर्देशन दिएको बताए ।

तर, नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको उपनेता सन्तोष कुमारी शर्मा थापाले भने जेठ ३ गते विश्वासको मत लिनेबारे आफूहरूबिच कुनै छलफल नभएको मिडियालाई बताएकी छन् ।