धनगढीका निजी विद्यालय भन्दा नमुना विद्यालय विद्यार्थीको रोजाईमा पर्दै


अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका पाँच विद्यालयमध्ये एउटा हो वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय।

गएको वर्ष उक्त विद्यालयमा ४ सय २७ विद्यार्थी भर्ना भएका थिए। यो वर्ष बैशाख २४ गतेसम्म उक्त विद्यालयमा नयाँ विद्यार्थीको संख्या मात्रै १०५ पुगेको छ। विद्यालले जेठ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न सकिने बताएको छ। सिद्धनाथ माध्यमिक विद्यालय नमुना भएपछि अभिभावक र विद्यार्थीको रोजाइमा पर्न थालेको छ।

उपमहानगरपालिकाले हरेक कक्षामा स्मार्टबोर्ड जडान गरिएको छ भने विद्यार्थीहरूका लागि प्लेस्टेसन निर्माण गरिएको छ। नमुना विद्यालयका शिक्षकहरूलाई पेशागत तालिमको समेत व्यवस्था मिलाइएको छ । कक्षा कोठाहरूमा स्मार्टबोर्ड जडानपछि विद्यार्थी र शिक्षकहरूलाई सिकाइ क्रियाकलाप गर्न सहज भएको छ। शिक्षकहरूको अनुपस्थितमा समेत स्मार्टबोर्डको सहायताले सिकाइ गर्न सहज भइरहेको कक्षा ९ मा अध्ययनरत छात्रा अमृता नेपालीले बताइन्।

‘हाम्रो विद्यालयमा हरेक कक्षामा स्मार्टबोर्ड जडान गरिएको छ, जसले गर्दा हामीहरूलाई पढाइका कुरा सिक्न सजिलो भएको छ। शिक्षकहरू पनि उत्साहित भएर पढाउनु हुन्छ भने हामी विद्यार्थीहरूलाई पनि स्मार्टबोर्डको माध्यमबाट थप कुरा आफै जान्न मद्दत पुगेको छ’, अमृताले भनिन्।

सबै कक्षामा स्मार्टबोर्ड हुँदा सानो कक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई पाठ्यक्रममा भएका विषयवस्तु सजिलै खोजेर पढ्न सहज भएको छ। प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप गरिँदा विद्यार्थीहरू नियमित विद्यालयमा आउन थालेका छन्।

कक्षाकोठामा स्मार्टबोर्ड हुँदा कतिपय अवस्थामा आफै पढ्न र बुझ्न सहज भएको कक्षा १० मा अध्ययनरत छात्रा सुनिता उपाध्यायले बताइन्। ‘स्मार्टबोर्डले हामीलाई सिकाइ गर्न सहयोग गरेको छ। कुरा बुझ्न, अभ्यास गर्न र आफैं पनि विषयवस्तु बुझ्न अहिले सजिलो भएको छ’, सुनिताले भनिन्।
अभिभावक र विद्यार्थीको धारणामा परिवर्तन
धनगढीका नमुना विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न थालिएको छ। नर्सरीदेखि कुनै पनि अतिरिक्त शुल्क नलिएर आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। विद्यालय नमुना घोषणा गरिएपछि विद्यार्थी र अभिभावकहरूको विद्यालय प्रतिको धारणामा सकारात्मक परिवर्तन आएको टंकप्रसाद जोशीले मिडियालाई बताए।

‘उपमहानगरले हाम्रो विद्यालयलाई नमुना घोषणा गरेपछि अभिभावक र विद्यार्थीमा विद्यालय प्रतिको धारणामा सकारात्मक परिवर्तन आएको छ’, उनले भने, ‘नमुना विद्यालय भएकाले नयाँ विद्यार्थी आउने क्रम पनि बढेको छ भने सिकाइ क्रियाकलापसमेत प्रभावकारी हुन थालेका छन्।’
निजी विद्यालय छोडेर नमुनामा भर्ना
ग्रामीण क्षेत्रको विद्यालयलाई नमुना घोषणा गरेर उपमहानगरले थप लगानी गरेको छ। शिक्षक व्यवस्थापन, तालिम, शैक्षिक सामग्री व्यवस्थापन तथा भौतिक पूर्वाधार निर्माणमा उपमहानगरले थप लगानी गर्ने भएको छ। सिद्धनाथ माध्यमिक विद्यालयको अवस्था विगतमा कमजोर भएपनि उपमहानगरले नमुना बनाएपछि निजी विद्यालयबाट विद्यार्थी आउने क्रम बढेको प्रधानाध्यापक प्रेमबहादुर शाहीले बताए।

‘पहिले हाम्रो विद्यालयको अवस्था कमजोर थियो। नगरपालिकाले नमुना घोषणा गरेर सहयोग गर्दा अवस्था बदलिएको छ’, उनले भने, ‘अहिले हाम्रो विद्यालयमा बोर्डिङ स्कुल छोडेर भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ। हामीले कुनै पनि शुल्क नलिएर अङ्ग्रेजी माध्यममा पठनपाठन गराइरहेका छौँ।’
नमुना विद्याल सार्वजनिक विदाको दिन पनि खुल्ने
सिद्धनाथ माध्यमिक विद्यालयमा उपमहानगरपालिकाले थप शिक्षक व्यवस्थापन गरेको भए पनि अझै केही शिक्षक अपुग भएको विद्यालयले जनाएको छ। नमुना विद्यालय घोषणा भएपछि शैक्षिक नतिजामा सुधार आउनुको साथै यो शैक्षिक सत्रमा सार्वजनिक विदाको दिनसमेत विद्यालय खुल्नेछ। धनगढीका नमुना विद्यालय यो वर्ष २६७ दिन खुल्ने प्रधानाध्यापक शाहीले मिडियालाई बताए । साभार दिनेश खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0