धनगढी कैलाली गाउँका राना परिवारको चार घरमा अदालतको आदेशमा डोजर चलाईयाे


धनगढी : धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा दाजुभाइहरू बिच जग्गा विवाद हुँदा अदालतको आदेशमा हार्ने पक्षको घरमा डोजर लगाएर भत्काइएको छ। कैलाली गाउँका सत्था राना र धनबहादुर, भजौरा र हरि रानाको घरमा प्रहरीको उपस्थितिमा अदालतले डोजर लगाएर भत्काएको हो।

२०३५ सालदेखि जग्गाको विषयमा विवाद गरिरहेका रत्तु राना र फिरुवा रानाका छोरा हुँदै नातिहरू बिच जग्गा विवाद चलेको थियो। कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतसम्म मुद्दा लडेका सत्थु राना, धनबहादुर, भजौरा र हरिरानाले प्रसाद राना पक्षसँग मुद्दा हार्दा अदालतले घर भत्काएर जग्गा खाली गर्ने आदेश गरेको हो। पटक–पटक घर खाली गर्ने समय दिँदा समेत अटेरी गरेको भन्दै अदालतले प्रहरी परिचालन गरेर चार घर भत्काएर जग्गा खाली गरेको छ।

यस्तो छ झगडाको नालीबेली

धनगढी–१३ कैलाली गाउँका सुकै रानाका दुई छोरा हुन् रत्तु र फुरुवा राना। रत्तु रानाका चार छोरा भूरा राना, रामचरण राना, मरैला राना र तैला राना हुन् भने फिरुवा राना दुई छोरा बन्धु र कल्लु राना हुन्। रत्तु र फिरुवा रानाको मात्रै होइन उनीहरूका ६ छोराको समेत मृत्यु भइसकेको छ।

तर रत्तुका चार छोरा तथा फिरुवाका दुई छोराहरूका १५ जना छोराहरू बिच अंश मुद्दा ४६ वर्षसम्म चलेर गत वर्ष मात्रै किनारा लागेको हो। घरबास रहेको करिब २ बिघा १० धुर जग्गाका लागि फिरुवा रानाका दुई छोरा बन्धु र कल्लु राना तथा रत्तुका चार छोरा भूरा राना, रामचरण, मरैला र तौला राना हुँदै उनीहरूका १५ जना भाइछोराहरू बिच ४६ वर्षसम्म अंश मुद्दा चलेको हो। अदालतमा परेको मुद्दा जिल्ला, उच्च र सर्वोच्च अदालतमा समेत सत्थु राना र धनबहादुर, हरि र भजौरा राना पक्षले हार्न पुग्दा घर बल प्रयोग गरेर बिहीवार खाली गरिएको हो। आफ्नै बाजेको नाममा भएको जग्गा गुमाउनुपरेको सत्था रानाले गुनासो गरेका छन् ।

अदालतमा मुद्दा हार्न पुगेका सत्था र धनबहादुर, हरि र भजौरा रानाले घर भत्काएर जग्गा खाली नगर्दा बल प्रयोग गर्नुपरेको हो। प्रहरीले डोजर चलाएर घर भत्काउँदा आफूहरू माथि अन्याय भएको सत्थु र धनबहादुर, भजौरा र हरि राना पक्षले गुनासो पोखेका छन्।

गत वर्ष नै अदालतले सत्थु र धनबहादुर रानालाई जग्गा खाली गर्न आदेश दिएको बताइएको छ। प्रसाद राना पक्षले जग्गा खाली गर्न दिएको समय सीमाको पालन सत्थु र धनबहादुर पक्षले नगरेको भन्दै प्रशासन र अदालतको उपस्थितिमा डोजर लगाएर घर भत्काइ जग्गा खाली गरेको हो। अनाज, लत्ताकपडा र भाडा वर्तन सार्न नमानेको भन्दै डोजर लगाएर घर भत्काइएको हो। घर भत्काएपछि सत्थु, हरि भजौरा र धनबहादुरको घरमा रुवाबासी मच्चिएको छ। घर भत्काइएपछि रुदै सथ्युको श्रीमती भागरथी रानाले आफूहरूमाथि अदालतले बज्रपात गरेको बताएकी छिन्।

अदालतको फैसलामै आफूहरू माथि अन्याय भएको सत्थु राना पक्षले बताएको छ। उता प्रसाद राना पक्षले भने अदालतको आदेशअनुसार जग्गा खाली भएकोमा सन्तोष मानेको छ। २०३५ साल अगाडि आफ्नै बाजेको नाममा रहेको जग्गाबाट शुक्रवार सथ्यु राना, धनबहादुर राना, हरि र भजौरा रानालाई अदालतको आदेश पश्चात् बल प्रयोग गरेर हटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0