गोदावरीमा ८ कक्षाकाे नगरबाटै उत्तरपुस्तिका जाँचिदा ५०प्रतिशत भन्दा बढि नतिजा खस्कियाे


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको नगर स्तरीय कक्षा ८ को परीक्षाको नतिजा खस्किएको छ । शैक्षिक सत्र २०७९ को नगर स्तरीय परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८० मा भने त्यसको आधा विद्यार्थी पनि उत्तीर्ण हुन सकेनन् । नगरपालिकाले आइतबार सार्वजनिक गरेको नजिता अनुसार ४३.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

कुल २ हजार ६२७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ हजार १४५ विद्यार्थी मात्रै उत्तीर्ण भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताए । नगरपालिकाको वडा नम्बर १२ मा रहेको जनप्रभात माविको नतिजा निल नै आएको छ । उक्त विद्यालयबाट कक्षा ८ मा २२ जना विद्यार्थी सहभागी भएका थिए । नगर स्तरीय परीक्षामा सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयका तुलनामा झन् कमजोर छ । २९ सामुदायिक र २८ वटा संस्थागत विद्यालय रहेको गोदावरीमा संस्थागत तर्फ ६५.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक तर्फ ३०.३५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

तर, नगरपालिकाले कुन विद्यालयको नतिजा कस्तो आयो भन्ने बारेमा भने जानकारी दिन नमिल्ने जनाएको छ । नगरको शिक्षा शाखा प्रमुख जोशीले विद्यालयको नजिता विद्यालयबाटै थाहा हुने भएकाले नगरपालिकाबाट कुन विद्यालयको नतिजा कस्तो आयो भनेर जानकारी दिन नमिल्ने  मिडियालाई बताएका छन ।

 नतिजा खस्कियाे 

गोदावरी नगरपालिकामा विगतका वर्षहरूमा नगर स्तरीय परीक्षाको उत्तर पुस्तिका सम्बन्धित विद्यालयमा नै जाँच गरेर नतिजा मात्रै नगरपालिकामा पेस गरिँदै आएको थियो । सोही अनुसार नगरपालिकाले नगर स्तरीय परीक्षाको नजिता भनेर परीक्षाफल प्रकाशित गर्दै आएको थियो । तर, शैक्षिक सत्र २०८० मा भने विद्यालयहरूले आफैले उत्तर पुस्तिका जाँच गरेर नतिजा नगरपालिकामा पठाउन पाएनन् । नगरपालिकाले सबै विद्यालयका उत्तर पुस्तीकामा कोड प्रदान गरेर शिक्षकहरूलाई उत्तर पुस्तिका जाँच गर्न लगाएको थियो । जसका कारण कुन उत्तरपुस्तिका कुन विद्यार्थी र विद्यालयको हो भन्ने जानकारी शिक्षकलाई थिएन ।

गत वर्ष धनगढी उपमहानगरपालकामा ९ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण हुँदा गोदावरीमा ९५ विद्यार्थी उत्तिर्ण भएपछि नगरको परीक्षा प्रणालिमा आशंका उब्जिएको थियो । नगर स्तरिय परीक्षामा कडाइ नगरिएको समेत  विभिन्न क्षेत्रवाट गुनासा गरिएका थिए । जसलाई यस वर्ष उत्तर पुस्तीका जाँच गर्ने तरिकामा गरिएको हेरफेर गर्दा नतिजा फरका आउनुले पुष्टि गरेको छ ।

नगर शिक्षा समितिका सदस्य डा. डम्बर बहादुर पालले उत्तर पुस्तिका जाँच गर्ने तरीकामा परिवर्तन गरिएकै कारण नतिजा उल्टिएको भन्न नमिल्ने भए पनि त्यो पनि एक कारण भने हुन सक्ने मिडियालाई बताए । उनले विगतमा जे जस्तो भए पनि यस वर्ष नगरको शिक्षाको स्तर कस्तो छ भनेर जाँच गर्न परीक्षा समिति र शिक्षा समितिले सल्लाह गरेर नगरमै उत्तर पुस्तीका जाँच गर्न निर्णय गरेको बताए । उनले शिक्षकहरूलाई नगरमै बोलाएर कोड मात्रै हालिएका कापी जाँच गरिएको बताए ।

उनले कक्षा ८ मा ४३ प्रतिशत मात्रै नतिजा आउनु अपेक्षित नभएकाले यसलाई सुधार गर्न आवश्यक रहेको बताए । ‘कक्षा ८ मा पढ्ने विद्यार्थी यो भन्दा धेरै पास हुनुपर्ने हो’ उनले भने ‘यस वर्ष शिक्षामा सुधारका लागि तालिम, विद्यालयमा अवलोकन लगायतका कार्यक्रम गरेका थियौ । आगामी दिनमा राम्रो नतिजाका लागि हामी अहिले देखि लागेका छौ ।’ उनले कुन ठाउँमा कमजोरी भयो भन्ने बारेमा समीक्षा गरेर आगामी योजना बनाउने  समेत मिडियालाई  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0