गोदावरीकाे वडा नम्बर १ घण्टेश्वर माविबाट दादुरा–रुबेला खोप अभियान सुरु


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकामा आज देखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । नगरको वडा नम्बर १ मा रहेको घण्टेश्वर माविबाट बालबालिकालाई खोप लगाउन सुरु गरिएको छ ।

अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइरहेको अत्तरिया सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज कुशुम शर्मा (भट्ट) ले बताइन् । भट्टले गोदावरीमा पनि दादुराको जोखिम भएकाले खोप अभियान सफल पार्न आजदेखि खोप कार्यक्रम सुरु गरिएको बताइन । उनले खोप अभियानमा बालबालिकाको उल्लेख्य सहभागिता रहेको बताइन् ।

घण्टेश्वर माविका प्रधानाध्यापक दिपक राज भण्डारीले खोप अभियानमा विद्यालयले सहयोग गरिरहेको बताए । उनले विद्यालयमा पढिरहेको लक्षित समुहका विद्यार्थी लगायत अन्य टोलछिमेकबाट आएका विद्यार्थीलाई खोप लगाउन शिक्षकहरु पनि खटिएर सहजिकरण गरिरहेको बताए ।

फागुन २१ गते सम्म संञ्चालन हुने खोप अभियान अन्तरगत गोदावरीका अन्य वडाहरुमा भने फागुन १५ गते देखि खोप लगाउन सूरु गरिने जनाइएको छ । खोप अभियान सञ्चालन गर्न गोदावरीमा ९५ वटा केन्द्र तोकिएका छन । अभियान अन्तरगत ४० हजार ८०४ बालबालिकालाई खोप लगाइने जनाइएको छ ।

अभियान सञ्चालनका लागि ११३ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको छ । दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरगत तराइका २१ जिल्ला र काठमाण्डौं उपत्यका भित्रका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई लगाइँदै छ भने बाँकी ५३ जिल्लाहरुमा भने ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0