अत्तरिया महाेत्सवकाे नक्कली टिकट ठेली प्रकरण : प्रहरी हिरासतबाट चारै जना रिहा


अत्तरिया: सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतबाट रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय, कैलालीले उनीहरूलाई जमानीमा रिहा गर्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्कासहित चार जनाको फाइल जिल्ला सरकारी वकिल कार्यालय, कैलालीमा पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय, /कैलालीले उनीहरूलाई रिहा गर्ने निर्णय गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय, कैलाली स्रोतका अनुसार प्रहरीलाई ६ बुदे निर्देशन दिइएको छ। फरारको सूचीमा रहेका अध्यक्ष कल्याण बोहोरा र पूर्व अध्यक्ष अशोकराज देवकोटालाई समेत पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको छ। प्रहरीले उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएको हो। प्रहरीले तथ्य प्रमाणसमेत जुटाउनुपर्ने भएको छ।

प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए। ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरीको हिरासतमा रहेका थिए।

प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको फेला परेको थियो। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो।

रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्काेबाट १३ र अर्काेबाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए। अत्तरिया उद्योग वाणिज्य संघमा मिलापत्र नभएपछि घटना प्रहरीमा आएको हो। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको फाइल फिर्ता भएको छ।

जिल्ला अदालतमा फाइल पेस नभएको स्रेस्तेदार मानबहादुर विष्टले मिडियालाई बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0