कैलालीको गोदावरी र खैराना नदीबाट १८ वटा गाडी लियाे कैलाली प्रशासनले नियन्त्रणमा


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्क्साभेटर डोजरसहितका १८ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ।

गोदावरी नदी र खैराना नदी उत्खननमा प्रयोग भएका गाडीहरू आइतवार साँझ प्रशासनले नियन्त्रणमा लिएको हो। नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा प्रयोग भएका ३ वटा एक्स्काभेटर, ३ जेसिबी, १० वटा टिपर र ३ वटा ट्याक्टर खानी तथा नदीजन्य पदार्थको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा  जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुषाल नेतृत्वमा गएको टोलीले अवैध उत्खननमा प्रयोग भइरहेका गाडीहरू  नियन्त्रणमा लिएको थियाे।

गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेको भन्ने समाचार र सार्वजनिक गुनासो प्राप्त भएपछि संयोजक भुषालसहित प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, कैलाली प्रहरी प्रमुख एसपी देवेन्द्रबहादुर पाल, डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेल, सशस्त्र प्रहारी बलका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धानका प्रमुखसहितको टोलीले गोदावरी र खैराना नदीबाट १८ वटा गाडी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका गाडीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र नदी उत्खननका विषयमा थप अध्ययन गरिने जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख भुषालले मिडियालाई बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0