गोदावरीको प्रशासकीय भवनकाे दाेस्राे पटक उद्घाटन सम्पन्न : एमालेले गर्याे विराेध प्रदर्शन


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको भवन दोस्रो पटक उद्घाटन गरिएको छ । यसअघि भवन उद्घाटन गरिएको करिब २ वर्ष पछि बिहीबार दोस्रो पटक भवनको उद्घाटन गरिएको हो । यसअघि विधि, प्रक्रिया नपु-याएर भवनको उद्घाटन गरिएको भन्दै भवन दोस्रोपटक उद्घाटन गरिएको  मेयर भट्टले वताएका छन ।

निवर्तमान मेयर हरी सिह साउँदले सम्झौता अनुसार भवनको काम पुरा नहुँदै उद्घाटन गरेकाे र हाल निर्माण सम्पन्न भएपछि भवन उद्घाटन  विधिवदरुपमा गरिएकाे समेत मेयर भट्टले वताएका छन।

२०७८ चैत्र १४ गते चुनावको मुखमा निवर्तमान मेयर साउदले भवन उद्घाटन गर्दा ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । विरोधका बीच भवन प्राङ्गणमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेरै उद्घाटन गरियो । उद्घाटनका क्रममा कालो झण्डा देखाउने एक जना विद्यार्थी नेता  एल अार अाेझा पक्राउ पनि परेका थिए । सीमित व्यक्तिलाई मात्रै उद्घाटन स्थलमा प्रवेश दिइएकाे थियो । ६ राजनीतिक दलले विज्ञप्ति निकालेर पुनः भवनको उद्घाटन गर्ने घोषणा गरेका थिए ।

हाल भवनको निर्माण कार्य सम्पन्न भएर सबै प्रक्रिया पुगेको भएपनि विरोध रहित उद्घाटन भने हुन सकेन । नेकपा एमालेले दोस्रो पटक उद्घाटन गर्न नहुने भन्दै विरोध जनाएर उद्घाटन स्थलमै नारावाजी गरेका थिए ।

उद्घाटनका लागि तोकिएको समय अघि नै भवनको गेटमा पुगेका एमालेका नेता, कार्यकर्तालाई ठूलो संख्यामा परिचालन गरिएको जनपद प्रहरी, सशस्त्र प्रहरीले गेटमा रोके । विरोधकै बीच निर्धारित समय भन्दा २ घण्टा ढिलो गरि भवनको उद्घाटन गरिएकाे हाे । भवन उद्घाटनको क्रममा एमालेबाट निर्वाचित नगरका जनप्रतिनिधि भवन परिसरमै विरोध गर्दै नाराजुलुस गरिरहेका थिए भने अन्य एमालेका नेता कार्यकर्ता गेट बाहिर नाराजुलुस लगाउँदै थिए । गेटमा ठूलो संख्यामा परिचालन गरिएको प्रहरीले आयोजक र पत्रकारलाई समेत भित्र प्रवेश गर्न हम्मे हम्मे परेकाे थियाे ।

यसअघि भवनको उद्घाटन गर्दा तत्कालीन मेयर साउदले भवनको प्रवेशद्धारको दाहिने पट्टी आफूले उद्घाटन गरेको शिलालेख लगाएका थिए भने देब्रे पट्टी २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको नाम राखिएको थियो ।

अहिले भवनको पुनः उद्घाटनका क्रममा तत्कालीन मेयर साउदले भवनको दाहिने पट्टी राखेको उद्घाटनको शिलालेख हटाएर २०७९ मा निर्वाचन जितेका जनप्रतिनिधिको नाम राखिएको छ भने देब्रे पट्टी तत्कालीन मेयर साउदले भवन शिलान्यास गरेको शिलालेख राखिएको छ । वर्तमान मेयर भट्टले भवनको अगाडि नै शिलालेख राखेर बिहीबार भवनको उद्घाटन गरेका छन ।

यसरी पालिका बासिको सहजताका लागि दाताले निर्माण गरिदिएको भवनमा स्थानीय राजनीतिक दलहरुले साधेको प्रतिसोधले नगरकै बेइज्जत भएको पाईन्छ । दाताको सहयोगमा भवन निर्माण हुँदा उत्साहित हुनुपर्ने नगरवासी विभाजित भएर प्रहरी परिचालन गरेर उद्घाटन गर्नुपर्ने अवस्था अाएकाे छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरिदिएको भवनको यस प्रकारले उद्घाटन हुनु आफैमा लज्जाको विषय भएकाे अधिकास नगरवासीकाे भनाई रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0