एडीबीको ऋण सहयोगमा निर्माण गरिएको भवनमा उद्घाटनको हाेडवाजी 


अत्तरिया :  एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण गरिएको गोदावरी नगरपालिकाको भवनमा गाेदावरीका राजनीतिक दलहरुकाे उद्घाटनकाे हाेडवाजी चलेकाे छ । दाताको आर्थिक सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरिदिएको प्रशासकीय भवनमा गोदावरीमा सक्रिय राजनीतिक दलहरूले उद्घाटनको राजनीति गर्ने थलो बनाएकाे पाईन्छ । नगरपालिकाको झण्डै २ वर्षको आन्तरिक आय जति रकम खर्च गरेर निर्माण गरिएको  उक्त भवन अहिले दलहरूले आफूले बनाएको भन्दै नाम लेखाउने होडबाजी चलेको छ ।

भवनमा नाम लेखाउने होडबाजीका बीच २ वर्ष अघि तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर हरि सिह साउँदले भवन उद्घाटन गरेका थिए भने अर्को शिलालेख राखेर नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान मेयर बिरेन्द्र भट्टले पुनः उद्घाटन गर्ने तयारी गरेका छन । मेयर भट्टले बिहीबार भवन उद्घाटनका लागि तयारी गरिरहँदा यसअघि भवन उद्घाटन गरेको पक्ष विरोधमा उत्रिएको छ ।

नेकपा एमाले गोदावरी नगर कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै भवन उद्घाटन नगर्न चेतावनी दिएको छ । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंह  र प्रदेश सदस्य गाेकर्ण भट्टले यदि बल प्रयोग गरी भवन उद्घाटन गरिएमा त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगर प्रमुख भट्टले लिनुपर्ने बताएका छन । 

भवनको तत्कालीन मेयर साउँदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । सम्झौता अनुसारको काम नसकिदै भवन उद्घाटन गरेपछि तत्कालीन समयमा नेपाली कांग्रेस लगायत ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । 

तर, तत्कालीन मेयर साउँदले भने भवन निर्माण भएपछि नै उद्घाटन गरिएको दावी गर्छन । ‘भवनको पूर्ण रुपमा रङ्ग राेगन, सिसा जडान भइसकेको थियो । भवनको कम्पाउण्डको काम मात्रै बाँकी थियो’ उनले भने ‘मैले सबै सँग सल्लाह गरेर हुन्छ भनेपछि उद्घाटन गरेको हुँ ।’ क्षेत्रिय सहरी विकास कार्यालयले पनि उद्घाटन गर्न अनुमति दिएको तत्कालीन मेयर साउँदको दावी छ । यद्यपि अन्तिम समयमा आएर क्षेत्रिय सहरी विकास कार्यालयले भवन उद्घाटन नगर्न पत्र पठाएको तत्कालीन मेयर साउँद स्वीकार्छन् । 

 उता हालका मेयर भट्टले तत्कालीन समयमा भवन उद्घाटनको विरोध गरेका ६ राजनीतिक दललाई साथमा लिएर पुनः उद्घाटनको तयारी गरेका छन । भवन दाताबाट हस्तान्तरण नभइ उद्घाटन गरिएकाले सो उद्घाटन कानुनीरुपमा वैधानी नभएको हालका मेयर भट्टको तर्क रहेकाे छ । उनले भवन निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण भएकाले माघ ४ गते बिहिवारका दिन उद्घाटन गर्ने जनाएका छन ।

उद्घाटन कार्यक्रममा हाल एमालेबाट निर्वाचित जनप्रतिनिधिले पनि साथ नदिने जनाएका छन । एमालेबाट उपमेयरमा निर्वाचित शारदा रोकायाले भवन उद्घाटनमा एमालेका जनप्रतिनिधिको सहभागिता नरहने बताइन् । उनले दोस्रो पटक भवन उद्घाटन गर्न लागिएकाले आफूहरूले त्यसको विरोध गरेको बताइन् । उनले आफूले छलफल गरेर समस्या सामधान गरौँ भन्दा पनि मेयरले कुरा नसुनेको र अाफुहरुलाई वास्ता समेत नगरेकाे बताइन् । 

१३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँमा निर्माण गरिएको भवन २०८० असोज २६ गते निर्माण सम्पन्न गरिएको आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । भवन निर्माण सम्पन्न भएको ४ महिना पछि आयोजना कार्यान्वयन इकाईले माघ २ गते गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हाल भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएपनि भवनको मर्मत अवधि भने  अझै बाँकी रहेको  बताईएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0