गोदावरी नगरपालिकाकाे भवन हस्तान्तरण, माघ ४ गते पुजापाठ गरि उद्घाटन गरिदै


अत्तरिया:   मंगलवार एडीबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरेको कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भवन क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका ईन्जिनियर शौरभ कलौनीले नगरप्रमुख बिरेन्द्र भट्टलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले आधिकारीक रुपमा मंगलबार देखि भवनको स्वामित्व गोदावरी नगरपालिकाले पाएको बताए । मेयर भट्टले जेठ महिनादेखि भवन निर्माण संगसंगै निर्माणधिन भवनबाटै प्रशासकीय काम संचालन गरिएको बताएका थिए ।

उनले भने ‘हामीलाई मासिक साढे ४ लाख भाडामा खर्च भइरहेकाले भवन निर्माणाधिन अवस्थामै नयाँ भवनमा सरेका थियौ ।’ उनले भवन हस्तान्तरण नहुँदै यसअघि उद्घाटन गरिनु गलत भएको बताए । ‘भवन निर्माण भएपछि पनि गोदावरी नगरपालिका संचालनका लागि २ वर्ष सम्म साढे ४ लाखका दरले भाडा तिरिएको छ । त्यो रकम एमालले दिन सक्छ’ उनले भने ‘हामीले पनि यसरी मनोमानी गर्न पाउँदैनौ । हामीले पनि कार्यकाल सकिदै जादा अधुरा काम उद्घाटन गर्दै जाने ?’

उनले उद्घाटनको समयमा सबैले विरोध गरेको भएपनि जवरजस्ती एकलाैटी तरिकाले उद्घाटन गरिएको बताए । उनले हाल भवन उद्घाटन गर्नको लागि नेकपा एमाले बाहेक सबैको सहमति रहेको बताए । उनले आफूले नगरका सबै दललाई समेटेर अगाडी बढिरहेको बताए । उनले भवन यसअघिका मेयरको पालामा शिलान्यास भएकाले अहिले उद्घाटन गर्ने सल्लाह भएको बताए । उनले भवन माघ ४ गते बिहिवारका दिन पुजाअाजा गरि विधिवद रपमा उद्घाटन गर्ने तयारी भएको बताए ।

मंगलबार भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकामा एमाले वाहेकका अन्य क्रियाशिल राजनीतिक दलहरुका प्रतिनिधिको सहभागिता रहेको  थियाे ।

नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसंग सम्झौता भएको थियो । २०७६ साल मंसिर २० गते देखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो । यसअघि प्रशासकीय भवन निवर्तमान मेयर हरि सिह साउदले २०७८ चैत्र १४ गते  एकपटक उद्घाटन गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0