सुदूरपश्चिममा रास्वपा द्वारा ‘घण्टीमित्र’ अभियान सुरु 


अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा सुदूरपश्चिममा ‘घण्टीमित्र’ अभियान सुरु गरेको छ । अत्तरियाकाे प्रतिभा सामुदायीक पुस्तकालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले अभियानकाे सुरु गरिएको घोषणा गरेको हो । रास्वपा प्रति आस्थावान व्यक्तिलाई पार्टीमा जोड्नका लागि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको रास्वपाका प्रदेश प्रवक्ता सन्तोष जोशीले बताए । उनले पार्टीको सदस्यता नलिएका तथा लिन नसक्ने व्यक्ति यस अभियानमा जोडिने बताए ।

अभियानमा जोडिनका लागि प्रदेश समितिले कार्यविधि बनाएर १ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । यस्ता ‘घण्टीमित्र’ सदस्यहरू पार्टीका गतिविधि, बहस, छलफलमा सहभागि हुन  पाउने भएपनि पार्टीको अधिवेशनमा उम्मेदवार र मतदाता भने बन्न नपाउने प्रवक्ता जोशीले बताए । उनले पार्टी सदस्यता शुल्क तिर्न नसकेर पार्टीमा जोडिनबाट बञ्चित भएकाहरू पनि यो अभियानमार्फत जोडिन सक्ने बताए ।

‘हामीले पार्टी सदस्यता ५ वर्षको लागि १ हजार राखेका थियौ । त्यो एकमुष्ट तिरेपछि ५ वर्षसम्म रिन्यू नगर्नुपर्ने प्रोसेस थियो । तर, एकैचोटी हजार रुपैयाँ तिनुपर्दा धेरै भयो भन्ने कुरा आयो । जसले गर्दा पार्टीप्रति आस्थावान भएका व्यक्तिहरू पनि सदस्यता कार्ड लिनबाट बन्चित भए’ उनले भने ‘यस्ता व्यक्तिलाई सम्बोधन हुने गरी हामीले ‘घण्टीमित्र’ अभियान सुरु गरेका हौ । जसका लागि वार्षिक १ सय रुपैयाँ तिरे पुग्छ ।’

उनले आर्थिक अभावका कारणबाटै पार्टीमा जोडिन नसकेकाहरुलाई ‘घण्टीमित्र’ अभियानले समेट्ने बताए । उनले ‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुले पछि सहजै पार्टीको सदस्यता लिन सक्ने बताए । यस अभियानबाट एउटा नयाँ समुह निर्माण हुने उनले बताए ।

‘घण्टीमित्र’ अभियानमा जोडिएकाहरुलाई पार्टीको कार्ड दिइने छ । ‘घण्टीमित्र’ अभियानबाट संकलन भएको रकम प्रदेश कमिटिकाे खातामा जम्मा गरेर पछि ७० प्रतिशत पालिकामा फिर्ता गरिने जनाइएको छ । ३० प्रतिशत रकम भने प्रदेशमा रहने छ ।

पार्टीको साधारण शुल्क १ हजार हुँदा पार्टी धनाड्य वर्गको मात्रै भयो भन्ने भ्रम चिर्न पनि ‘घण्टीमित्र’ अभियान सुरु गरिएको प्रवक्ता जोशीले बताए । यद्यपि पार्टीले सिफारिस गरेको आधारमा निःशुल्क सदस्यता लिने व्यवस्था रहेको उनको भनाइ  रहेकाे छ ।

रास्वपाकी प्रदेश कोषाध्यक्ष जसु भट्टले पार्टीप्रति आस्थावान भएर पनि कुनै कार्ड अथवा चिनो नभएको गुनासो गर्ने व्यक्तिलाई ‘घण्टीमित्र’ अभियानले जोड्ने बताइन् । जनताबाट आएको आवाजलाई सम्बोधन गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको उनले बताइन् । उनले यो अभियानबाट संकलन गरिएको रकम बिभिन्न विपतजन्य प्रकोपमा खर्च गरिने समेत बताइन् ।

रास्वपाका गोदावरी नगर सभापति दीपक ओझाले पार्टीप्रति आस्थावान भएका व्यक्तिलाई अपनत्वको भावना जागृत गर्न ‘घण्टीमित्र’ अभियान सुरु गरिएको बताए । उनले अभियान वडाबाट सुरु गरेर केन्द्र सम्म पुर्याउने अपेक्षा लिएको बताए ।

वडाहरुमा संगठन विस्तार गर्ने क्रममा थुप्रै मानिस जोडिएका भएपनि सदस्यता शुल्क महङ्गो भएकै कारण पार्टीमा आवद्ध नभएकालाई ‘घण्टीमित्र’ अभियानले जोड्ने रास्वपाका गोदावरी नगर सचिव भानदेव पनेरुले बताए ।‘हामीले गोदावरीका वडाहरुमा संगठन बिस्तार गर्दा प्रत्येक वडामा एक सय देखि डेढ सय मानिस हामीसँग जोडिन खोजेका थिए’ उनले भने ‘सदस्यता शुल्क १ हजार भएकै कारण धेरै मानिस जोडिन सकेनन् । ‘घण्टीमित्र’ अभियानले अब ति सबै मानिसलाई जोड्न सहज गर्छ ।’ उनले हजार रुपैयाँ तिरेर पार्टीको सदस्यता लिनु र १ सय तिरेर ‘घण्टीमित्र’ बन्नु आस्थाका हिसाबले समान हुने  समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0