गोदावरी नगरपालिकामा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईयाे


 

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा २० औं स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । दिवसको अवसरमा शाखाले ४ जना अवकासप्राप्त स्वयंसेविका ५० हजार रुपैँया हस्तान्तरण गर्दै सम्मान समेत गरेको छ ।

त्यस्तै उत्कृष्ट कार्य गर्ने प्रत्येक वडाका ३ जना स्वयंसेविकालाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाले भुमिका महत्वपुर्ण भएको बताए । मेयर भट्टले स्वयंसेविकाले निस्वार्थ भावले काम गरिरहेको भन्दै नगरपालिकाको एकमात्र अस्पतालको रुपमा रहेको मालाखेतीको स्तरोन्नतीकोलागि निरन्तर लागिरहेको बताए ।

“मालाखेती अस्पताल गोदावरी नगरपालिका भित्रको एकमात्रै अस्पताल हो उनले भने यस्को स्तरोन्नतीकालागि निरन्तर लागिरहेका छौँ । स्त्रीरोग विशेषज्ञ डाक्टर अन्वेषण कोइरालाको सरुवा भईसकेको छ,उहाँ गएपछी सेवा प्रभावित नहुने गरी अर्को स्त्रीरोग विशेषज्ञ डाक्टर ल्याउने प्रयास गरिरहेका छौँ ।”

अस्पतालमा कहिलेकाहिँ अपवादको रुपमा हुने घटनालाई लिएर आक्रोशित हुन नहुने भन्दै उनले स्वास्थ्य क्षेत्रका व्यक्तिकाे मनोबल बढाउनु पर्ने बताए । त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नगर उप प्रमुख शारदा देवी रोकायाले स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा स्वयंसेविकाको खटाई सम्मानयोग्य रहेको बताईन् ।

कुनै कुराको आसा नगरी रात दिन नभनी स्वयंसेविकाहरु सेवामा निस्वार्थ भावले खटीरहेको उनले बताईन् । नगरस्तरीय स्वयंसेविका समुहकी अध्यक्ष जानकी मलासीले अवकास पश्चात स्वयंसेविकालाई नगरपालिकाले प्रदान गर्दै आएको रकम वृद्धी गर्नुपर्ने बताईन् ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कैलालीका १३ ओटा स्थानीय तहमध्य गोदावरी नगरपालिका स्वास्थ्य सुचकांकको आधारमा दोस्रोमा पर्न सफल भएको बताए । गोदावरी नगरपालिकाका १२ ओटा वडामा १०५ जना स्वयंसेविका  रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0