उपमहानगरले प्लास्टिकको माला प्रतिबन्ध गरेपछि धनगढीमा सयपत्री फूलको बिक्री बढ्यो


प्लास्टिकको माला र आयातित फूल बिक्रीमा रोक लागेपछि धनगढीका किसानले उत्पादन गरेको सयपत्री फूलको बिक्री वितरण भइरहेको छ। आफूले उत्पादन गरेको फूल बजारमा बिक्री गर्न पाउँदा  स्थानिय किसानहरू हर्षित भएका छन्।

धनगढी उपमहानगरपालिकाले यो वर्ष २६ जना किसानलाई जेठकाे महिनामै तालिम दिएर फूल उत्पादन गर्न लगाएको थियो। बजारको सुनिश्चितता र फूल उत्पादन गर्ने तालिम पाएका किसानहरूले यो वर्ष धनगढीलाई पुग्ने हिसाबले फूलको उत्पादन गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले प्लास्टिकको मालामा प्रतिबन्ध लगाएकाले आफ्नो उत्पादित फूलले बजार पाएको धनगढी–१२ जुगेडाकी पुष्प व्यवसायी आशा पन्त मिश्रले मिडियालाई बताइन्। ‘प्लास्टिकको फूलमाला बन्द हुँदा हाम्रो उत्पादन बिक्री भइरहेको छ,’ उनले भनिन्, ‘यो वर्ष तिहार अलि पछाडि भएकाले केही फूल खेर गयो। तिहार ढिला नभएको भए अझै राम्रो हुन्थ्यो।’

धनगढी–९ बङ्ग्राकटानका भीम बोहरा तीन दिनदेखि धनगढीमा फूल र माला बिक्री गरिरहेका छन्। उनले चार सयदेखि साढे चार सय रुपैयाँ प्रति किलोग्राम सयपत्री फूल बिक्री गरिरहेका छन्। प्लास्टिकको फूलमाला प्रतिबन्धले आफ्नो उत्पादनले बजार पाएकोमा बोहरा खुसी छन्। ‘प्लास्टिकको फूलमा उपमहानगरपालिकाका मेयरसाबले प्रतिबन्ध लगाएकाले हाम्रो फूल बिक्री हुन पायो। प्लास्टिकको फूलमाला सस्तो हुन्छ। प्लास्टिक नहुँदा हामीले बजार पायौँ। हामी खुसी छौँ,’ बोहराले भने।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाईमा शङ्कसिंह बिष्टले डेढ बिघामा फूल खेती गरेका छन्। उनले धनगढी उपमहानगरपालिका अगाडि र भाटभटेनीमा फूलमाला बिक्री गरिरहेका छन्। उपमहानगरपालिकाबाट यस्तै साथ र सहयोग प्राप्त भए धनगढीका पुष्पखेती गर्ने किसानहरूले आगामी वर्षबाट निर्यात गर्न समेत फूल उत्पादन गर्न सक्ने क्षमता राख्ने बिष्टले बताए। ‘यो वर्ष आयातित फूल र प्लास्टिकको फूलमालामा लगाइएको प्रतिबन्धले हाम्रो फूल बिक्री भएको छ,’ उनले भने, ‘हामीलाई उपमहानगरले यस्तै सहयोग गरे अर्को वर्षबाट धनगढीभन्दा बाहिर पठाउन पनि फूल उत्पादन हुन्छ। हामी धनगढीका किसानहरू वर्षभरि फूल उत्पादन गर्न सक्षम छौँ।’

यो वर्ष धनगढीमा प्लास्टिकका माला बिक्रीमा लगाइएको प्रतिबन्धले किसानहरूलाई आफ्नो उत्पादित फूल बिक्री गर्न सहज भएको हो। प्लास्टिकका अतिरिक्त कृत्रिम फूलमाला र सजावटका सामानमा सरकारले प्रतिबन्ध लगाए वर्षभरि प्राकृतिक फूल उत्पादन गरेर व्यवसाय गर्न सहज हुने किसानहरूले बताएका छन्। धनगढी उपमहानगरपालिकाले दुई स्थानमा फूल बिक्रीका लागि स्थानसमेत दिएको छ। किसानले उत्पादन गरेको फूल बिक्री हुँदैछ। यसवर्षकाे तिहारकाे शुभसायत बुधवार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0