देशका धेरैजसो किसानहरुले उत्पादन गरेको तरकारी र फलफूलले बजार नपाउँदा सडकमा फालेर विरोध जनाउने गरेका छन् । उपभोक्ताहरुले भने बाहिरबाट आएका तरकारी र फलफूल महँगोमा किन्नुपर्ने बाध्यता छ । किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर खेर जाने गरेको छ भने उपभोक्ताहरु विदेशबाट आएका विषादीयुक्त तरकारी र फलफूल खान बाध्य छन् ।

पोखरा महानगरपालिकाले भने कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएर किसान र उपभोक्तालाई सिधै जोडिदिएपछि किसानको आम्दानी बढेको छ । पहिलो दुई चार मुठा साग पनि बाकेर पोखरा जानु पर्ने थियो । पोखरा २८ माझठानका टिकाराम लामिछाने अहिले तरकारी लिन कृषि एम्बुलेन्स घरसम्मै आउँदा तरकारी बिक्री हुँदा कृषका लागि आम्दानी भएको  मिडियालाई बताउनुभयो ।

पोखरा महानगरपालिकाले गाउँगाउँमा कृषि सङ्कलन केन्द्र बनाएको छ भने सहरमा बिक्री केन्द्र खोलेको छ । गाउँका कृषि सङ्कलन केन्द्रमा सङ्कलन भएका तरकारी सहरमा भएका बिक्री केन्द्रसम्म कृषि एम्बुलेन्सले ल्याएर बिक्री गर्ने गरेको कृषि एम्बुलेन्स सञ्चालक विकास ठकुरीले बताउनुभयो ।

कृषि एम्बुलेन्सले वार अनुसार पोखराका कृषि उपजमा तरकारी पुर्‍याउन गर्दछ । बजारमा वार अनुसार तरकारी आएको थाहा पाउनासाथ उपभोक्ताहरु तरकारी किन्न आउँछन् । पोखराको विरौटा, सिर्जनाचोक, लेकसाइड, ड्यामसाइड लगायत क्षेत्रमा महानगरले नै बिक्री कक्ष तोकिदिएको छ । त्यसै ठाउँमा एम्बुलेन्सले तरकारी झारिदिन्छ । उपभोक्ताहरुले मन परेका तरकारी र फलफूल किन्छन् । गाउँबाट झरेको तरकारी बढी स्वादिलो हुने गरेको पोखरा – १७ कि पार्वती गुरुङले बताउनुभयो ।

महानगरले पहिलो चरणमा परीक्षणको रुपमा एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उत्पादन बढ्दै गए अझै एम्बुलेन्स थप्न सकिने योजना महानगरको रहेको छ । उत्पादन बढाउनकै लागि उत्पादनका आधारमा अनुदान दिने व्यवस्था महानगरले चलाएको छ । पोखरा महानगरले किसानले उत्पादन गरेका ३५ वटा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ । उनीहरुको तरकारी र फलफूल बजारमा बिक्री नभए महानगरले तोकिएको मूल्य किसानलाई दिने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

महानगरमा सङ्कलन केन्द्र र बिक्री केन्द्र बढाउँदै जाने, आवश्यकता अनुसार कृषि एम्बुलेन्स थप्ने लगायतका योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रमलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कास्कीले पनि सघाइ रहेको छ । आगामी दिनमा ग्रेडिङ गरेर पोखराको उत्पादनलाई छुट्टै ब्राण्डिङ गरिने योजना रहेको उहाँको भनाइ छ । वैशाखदेखि पोखरा महानगरपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँगाउँबाट तरकारी तथा फलफूल सङ्कलन गर्दै आएको बताएकाे छ।